काठमाडौं । नेकपा विभाजनको असर प्रदेश सरकारहरुमा देखिन थालेको छ ।
एमाले औपचारिक रुपमा विभाजन भएपछि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुसँगै प्रदेशसभा सदस्यहरुलाई भदौ २२ गतेसम्म दल रोज्न समय दिएको छ । त्यसैअनुसार बाग्मती र सुदुरपश्चिम प्रदेशका सांसदहरुले नयाँ बनेको दल नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
बाग्मतीमा एमालेका १२ जना प्रदेशसभा सदस्यहरुले नेकपा एकिकृत समाजवादी पार्टीमा जाने निर्णय गर्दै त्यसको जानकारी निर्वाचन कार्यालयलाई गराएका छन् । ५५ जना एमाले सांसद रहेको बाग्मती प्रदेशका १२ जना सांसदले नेकपा एकिृकत समाजवादीमा जाने निर्णय गर्दै मंगलबार निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । एमालेले प्रदेश सरकारमा मन्त्री बनाएका कृष्ण खनालले समेत नेकपा एकिकृत समाजवादी दल रोजेका छन् ।
बाग्मती प्रदेशका सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र मन्त्री रहेका कृष्ण खनालले माधव नेपाल नेतृत्वको दल रोजेका छन् । १२ जना सांसदहरुले एमाले छाडेपछि १३ दिनअघि नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।
सनाखत गरेपछि नेकपा एकिकृत समाजवादी पार्टीका नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले २२ गतेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्ने बताए । उनले भने,‘यो सनाखतमा अरु पनि आउहुनुहुन्छ । सनाखतको काम सकिएपछि हाम्रो दलको तर्फबाट नेकपा एमालेमा नरहेको जानकारी संसद सचिवालयमा पेश गर्छौं । नेकपा एमालेमा छैनौं भनेर पेश गर्छौ । त्यही दिन अहिलेको सरकार अल्पमतमा पर्नेछ ।’
त्यस्तै सुदुरपश्चिम प्रदेशका १० जना एमाले सांसदले समेत नवगठित नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।
एमाले उपाध्यक्ष भीम रावलको पकड क्षेत्र मानिएको सुदुपश्चिम प्रदेशमा एमाले छाड्नेको संख्या बढ्ने देखिएपछि रावल धनगढी पुगेका छन् । उनी धनगढी पुगेपछि नेकपा एकिकृत समाजवादीमा सनाखत गर्ने भनेका सांसदहरु तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कमा भएको र बुधबारसम्म थप ४ जनाले सनाखत गर्ने दाबी गरिएको छ । त्यसबाहेक माधवकुमार नेपाल समुहका भनिने कृष्ण सुवेदीले पनि सनाखत नगरेको जनाइएको छ ।
त्यसबाहेक प्रदेश नम्बर एक र दुईमा समेत नेकपा एकिकृत समाजवादी दलमा सनाखत गर्ने क्रम शुरु हुने जनाइएको छ । प्रदेश नम्बर एकमा मंगलबार सार्वजनिक विदा भएको र प्रदेश नम्बर दुईमा समेत बुधबार बैठक बसेर नेकपा एकिकृत समाजवादीमा सनाखत गर्ने जनाइएको छ । सोमबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर एक र बाग्मती प्रदेश सरकार केही दिनमा ढल्ने उद्घोष गरेका थिए ।




