काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुका बिचमा मंगलबार पनि छलफल हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार मंगलबार समेत गठबन्धनका नेताहरुका बिचमा छलफल हुने र मन्त्रिमण्डल विस्तारबारे आवश्यक निर्णय गर्ने तयारी छ । सोमबार भएको एउटा कार्यक्रममा अध्यक्ष प्रचण्डले भने,‘भर्खर सरकार गठनको प्रक्रिया अधि बढेको छ । भोलि (मंगलबार) बसेर मन्त्रालय बाँडफाँडका बारेमा, सरकारलाई पुर्णता दिनेबारेमा ठोस कुरा गर्दैछौं ।’
यसअघि सोमबार समेत गठबन्धनमा रहेका नेताहरुका बिचमा सरकारलार्इ पुर्णता दिने विषयमा छलफल भएको थियो । छलफलले छिटै मन्त्रिपरिषद्लाई पुर्णता दिने अनौपचारिक सहमति गरेको थियो । असार अन्त्यमा सरकार गठन भएको भएपनि अहिलेसम्म सरकारले पुर्णता पाउन सकेको छैन ।
नेकपा एमाले विभाजन गरेर अर्को दल गठन गर्ने तयारीमा रहेका माधवकुमार नेपाल समुहलाई पर्खदा सरकारले पुर्णता पाउन ढिलाई भएको बताउने गरिएको छ । मंगलबार बस्ने बैठकपछि बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको रहेको छ ।




