रिबन

उपचारपछि फर्केका नेता खनालले भने– कार्यकारी पदमा दाबी गर्दिन

काठमाडौं । मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किएका एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब आफुले कार्यकारी पदमा दाबी नगर्ने घोषणा गरेका छन् ।

उपचारका लागि भारत गएका नेता खनालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मृगौला प्रत्यारोपण सफल भएको र अबको जीवन नाफाको जीवन भएको समेत बताए । उनले भने,‘मेरो जीवन नाफाको जीवन हो । म ७१ वर्ष पार गरिसके । अब स्वास रहुन्जेल राष्ट्रियता कम्युनिष्ट आन्दोलनको विकासका लागि समय खर्च गर्नेछु । दिगो शान्ति स्थापनापछि समाजवादतर्फ जानका लागि मेरो जीवन समर्पित हुनेछु । कार्यकारी पदको दाबी गर्ने विचार गरेको छैन ।’

नेता खनालले कार्यकारी पदका लागि आफुले दाबी नगर्ने बताएको भएपनि पार्टीले दिने जिम्मेवारी भने स्विकार गर्ने बताए । उनले भने,‘पार्टीले दिने जिम्मेवारीका लागि ठाउँ राखेको छु । कार्यकारीको माग गर्ने नैतिक अधिकार छैन ।’

एमालेको नवौं अधिवेशनमार्फत् विधानमा ७० वर्षको मापदण्ड राख्नका लागि आफुले काम गरेको भन्दै उनले अन्य नेताहरुलाई मापदण्डको पालना गर्न आग्रह समेत गरे । उनले एमाले अब दक्षिणपन्थी र गसटवादी पार्टी बनेको बताए । उनले भने,‘कम्युनिष्ट आन्दोलन विभाजन हुन सक्दैन । केपी ओलीको पार्टी गुटवाद, अहंकार र व्यक्तिवाद भयो । त्यसका विरुद्ध हामीले विद्रोह गरेका हौं ।’ नयाँ बनेको दलमा अहिले थोरै नेताहरु देखिएको भएपनि क्रमशः संख्या बढ्दै जाने दाबी समेत उनले गरे ।

नेता खनालले केपी ओली नेतृत्वको सरकार कम्युनिष्ट सरकार नभएको भन्दै सरकार ढल्नु कम्युनिष्ट सरकार ढलेका रुपमा लिन नहुने समेत बताए । उनले भने,‘केपी ओली सरकार ढल्नु भनेको अहंकारवाद ढलेको हो । सरकार ढल्यो भनेर गोहीका आँशु चुहाउनुपर्ने आवश्यकता छैन ।’

अहिलेको सत्ता गठबन्धन लामो समयसम्म सहकार्यको आवश्यकता रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *