काठमाण्डौं । ठूलै भवितब्य नपरेमा अब नेपाली कांग्रेसको महाधिवेशन मंसिरमा नै हुनेछ । कांग्रेस भित्रको एउटा यस्तो तप्का छ,जो ठूलो स्वरले महाधिवेशन किन समयमा भएन भनेर बेजोडको आवाज निकाल्छ तर खासमा उ महाधिवेशन अहिले पनि चाहदैन,अब त्यो तप्काले पनि भाँड्न नसक्ने तहमा कांग्रेसको महाधिवेशन पुगेको छ । अर्थात,अब महाधिवेशन भएरै छाड्छ । किनभने सभापति शेरवहादुर देउवा महाधिवेशन नगरेर असक्षमको भारी बाेक्न चाहदैनन भने अब पनि महाधिवेशन नगरे पार्टीको वैधानिकता माथि प्रश्न उठछ ।
नेपाली कांग्रेस कति लोकतन्त्रवादी हो र उसको आन्तरिक लोकतन्त्र कति सवल छ भनेर अलग वहश गर्न सकिन्छ तर समयमा महाधिवेशन गर्नु पनि लोकतान्त्रिक परिपाटीलाई स्वीकार गर्नु हो । यति काम पनि नगरे कांग्रेसले आफूलाई लोकतन्त्रको हिमायती कसरी भन्ने ? यहि प्रश्नको उत्तर दिन पनि महाधिवेशन हुनेछ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा यसपटक गल्ती हुन्छ कि भनेर डराई डराई कदम चालिरहेका छन । उनी आफनो उत्तरार्धमा पुगेको राजनीतिक जीवन र भौतिक जीवन अब खराव गर्न चाहदैनन । यसकारण पनि महाधिवेशन हुनेछ । र,सवैभन्दा महत्वपूर्ण कुरा,उनी महाधिवेशनको लागि यति सुविधाजनक अवस्थामा छन कि उनको प्रतिस्पर्धामा अरु कमजोर देखिएका छन । यसकारण पनि महाधिवेशन हुनेछ ।
तर,पनि उनीसँग प्रतिस्पर्धा गरिरहेका रामचन्द पौडेल सहितका नेता किन देउवा महाधिवेशन चाहदैनन ? भनेर आक्षेप लगाइरहेका छन । के महाधिवेशन नगरेर सभापति भइराख्ने देउवाको चाहना छ ? वा नेता प्रकाशमान सिंहले भने झैं देउवा अधिनायकवादीपथमा हिंडेका छन ?
देउवा त्यतिवेला अधिनायकवादी पथमा हिडन सक्थे,जब उनी अधिवेशन जित्न नसक्ने तर सभापति छाडन नचाहने मोहले वशिभुत हुन्थे भने । तर के वस्तुगत अवस्था यस्तो छ प्रकाशमान सिंहले भनेजस्तो ? यो सवाल महन्वपूर्ण छ । र,यो भन्दा पनि महत्वपूर्ण सवाल अर्को छ । त्यो के हो भने–वारम्वार नेता पौडेल मलाई अन्याय भयो भनिरहन्छन । उनले यसबीचमा सभामुखदेखि उपप्रधानमन्त्रीसम्म कतिपटक भए लेखाजोखा यतिवेला गर्न जरुरी छैन । बरु पार्टीसत्ता किन उनले पाएनन भनेर बहश गर्नु उपयुक्त हुनेछ । अघिल्लो महाधिवेशन जब दुई नेता बीच पुन प्रतिस्पर्धा हुने अवस्था आयो तब देउवाले पौडेललाई प्रस्ताव राखे–अब चुनाव नगरौं,म सभापति बन्छु तपाई भावी प्रधानमन्त्री । तर पौडेलले अस्वीकार गर्नुभयो र परिणाम हामी सवैको सामुमा छ ।
अब आजको अवस्थामा आऔं । पौडेल देउवाका प्रतिस्पर्धी नेता हुन । जब नेताहरु बीच प्रतिस्पर्धा हुन्छ तब एकको जित र अर्कोको हार हुन्छ । यसो गर्दा हार्नेले अन्याय भयो भन्न मिल्दैन । बरु पौडेललाई कसैले धोका दिएको छ भने उनकै समुहले दिएको छ । जस्तो,अहिले महाधिवेशनको यति ठूलो संग्राम छ तर स्वयम पौडेललाई उनकै समुहले नेता मानेको छैन । कतिसम्म भने कल्याण गुरुङसम्मले सभापति उठछु भनेका छन । शेखर काेइरालादेखि शशांकसम्म र प्रकाशमानदेखि कल्याणसम्म पौडेल समुहकै नेता हुन । सेनाले सेनापति अस्वीकार गरेको अवस्था हो यो । यसैले अन्याय देउवाले होइन,पौडेल समुहले नै गरेको छ पौडेललाई । र,यहि अवस्थामा अधिवेशन भएमा देउवाले सहजै जित्छन भन्ने आंकलन पौडेल समुहको छ । यसैले दोष देउवालाई दिने तर अधिवेशन सार्ने पौडेल समुहको रणनीति छ । यहि रणनीतिको एउटा कडी थियो–क्रियाशील सदस्यको कृत्रिम विवाद र अनशन पनि । अब यो पनि समाधान भएपछि महाधिवेशन हुने कुरामा शंका रहेन ।




