रिबन

नीधिको नीति

काठमाण्डौं । के दुई दशकदेखि शेरवहादुर देउवासँग सँगै रहेका महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र नीधिले कांग्रेस पार्टीको सभापति जित्छु भनेरै १४ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका हुन ? सभापतिको उम्मेदवार बनेका मध्ये सवैभन्दा पहिले वानेश्वरको महंगो र सुविधा सम्पन्न पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाएका नेता निधिको बारेमा अहिले प्रश्न गर्न थालिएको छ ।


पार्टी सभापति शेरवहादुर देउवासँग अलग भएर सोही क्याम्पबाट अधिवेशन लडछु भनेपछि दुई पटक दिल्ली पुगिसकेका निधि हतारमा देखिन्छन । देउवासँग अलग हुने वित्तिकै कांग्रेसका संस्थापक नेताहरु वीपीपुत्र डा.शशांक,गणेशमान पुत्र प्रकाशमान सिंहसँग उनले धेरै चरणमा सम्वाद पनि गरिसकेका छन । सामुहिक तस्वीर सामुहिक भोज पनि गरिसकेका छन । सकभर तीन राजकुमारको एकल उम्मेदवार तय गर्ने उनको चाहना पनि प्रकट भइरहेकै छ । र,सभापति देउवाले डाकेको गुटगत भेलामा वुढानिलकण्ठ पनि पुगेका छन । र,सवैभन्दा पहिला सम्पर्क कार्यालय पनि उनैले खोलेका छन । यसका वाजुद पनि प्रश्न उनैमाथि छ । र,भनिदैछ–के उनी यो रेशका जित्ने घोडा हुन ?
कांग्रेसजनलाई राम्रोसँग हेक्का छ–निधि यसपटक अधिवेशन जित्दैनन ।

यो कुरा अरु त अरु स्वयम निधिलाई पनि थाह छ । तैपनि उनी किन मच्चिएका छन । यसमा दुईथरि कुरा छ । एकथरि भन्छन–निधिले महाधिवेशनको अन्तिम समयमा देउवासँग सहमति गरेर पछि हटछन । अर्कोथरि भन्छन–निधि उठछन,हार्छन र यसैको माध्यमबाट एउटा अलग गुट बनाएर अर्को महाधिवेशनको लागि ठाउँ सुरक्षित गर्छन ।


सवैका आ–आफना आंकलन र मुल्याँकन छन उनका प्रति । तर,खासमा निधि स्वयम चाहिं के गर्छन ? सवाल यो हो । निधिको खास नीति देउवलाई गलाउने हो । उनी सकभर देउवालाई कमजोर देखाउने र ब्याक गराउने मुडमा देखिन्छन । यसो भएमा संस्थापन पक्षकै उम्मेदवार आफू हुन सकिने उनको योजना छ । यसको लागि भारतको सदाशयता लिनकै लागि उनी दिल्लि दौडमा छन । र,यति गर्दा पनि देउवा पछि नहटे चुनाव लडने र गुट स्थापित गर्ने दौडमा छन । किनभने यो पटक उनले गुट बनाएनन भने अर्को महाधिवेशनमा डा.शेखर वा प्रकाशमान सिंह वा संस्थापनकै अर्को उम्मेदवारले उछिन्नेछन र कहिल्यै पनि सभापति हुन पाउने छैन भन्ने विश्लेषणमा देखिन्छन । खासमा भन्ने हो भने निधि अस्तित्व रक्षाको दौडमा छन । तर,के निधिको उम्मेदवारीले देउवापछि हटछन । यो प्रश्न कमजोर किन देखिन्छ भने आजको मिति पनि देउवा सवैभन्दा बलिया उम्मेदवार हुन ।

रामचन्द्र पौडेल समूहमा स्वयम रामचन्द्र पौडेल देउवाको कारण नभई उनकै टिमका सदस्यले नेता नमानेर हैरान छन । पौडेल समुका नेता पौडेल होइनन । यसमा उनी बाहेक सबै नेता हुन । यदि उनीहरुले पौडेललाइ नेता मानेको भए शशांक,शेखर देखि कल्याण गुरुङ्गसम्म कसरी सभापतिको उम्मेदवार भए ? यो भनेको रामचन्द्र पौडेलको असक्षमता हो । र,यो अवस्था सिर्जना गर्न सक्नु देउवाको सक्षमता हो । यस्तो सुन्दर अवस्था भएको बेलामा देउवा कसरी ब्याक हुन्छन ? यसैले आजपनि पौडेल समूह महाधिवेशन चाहदैन । किनभने यसै पनि भारी देउवा अहिले प्रधानमन्त्री समेत भएपछि झन भारी भएका छन ।

तर,जसोतसो समूह जोगाउन र अस्तित्व जोगाउन निधि मैदानमा देखिएका छन । नत्र रामचन्द्र पौडेल वा ढुण्डीराज शास्त्रीको हालत हुने उनले देखिसकेका छन । उनले भुलेको एउटा कुरा छ–कांग्रेसमा मधेशी नेता महामन्त्री देखि कोषाध्यक्षसम्म भएका छन तर सभापति भएका छन ? नेपालका जनमतले यो अनुमति दिन्छ ? यति सांकेति कुरा बुझे निधिको आगामी जीवन झन सजिलो हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *