काठमाडौं । क्रियाशील सदस्यता विवाद अन्त्यसँगै नेपाली कांग्रेसमा नेतृत्व लिने प्रतिस्पर्धाले नयाँ कोर्ष लिएको छ । सभापति देउवाविरुद्ध साझा उम्मेद्वार खोज्ने बाहानामा विभिन्न गठजोड बनाएर महाधिवेशन रोक्ने अभियानमा संस्थापन इतर लागेको हो भने अनुमान पार्टी कार्यालयमा भइरहेको जुलुस र धर्नाले संकेत गरेको छ ।
समय परिस्थिति सभापति शेरबहादुर देउवा अनुकूल भएको बुझाइसँगै संस्थापन इतर पार्टी भाँडमा गए पनि महाधिवेशन रोक्नुपर्ने निष्कर्ष निकालिएको हो भने त्यो गल्ती हुनेछ । क्रियाशील सदस्यता विवाद संस्थापन इतरले तीन महिना पर धकेलेकै हुन् । त्यत्तिले नपुगेर अहिले जिल्ला सभापतिहरुलाई उचालेर पार्टी कार्यालयमा जात्रा देखाउने काम भइरहेको छ ।
महाधिवेशन हुन नसकेर पार्टी संकटमा छ, यो संकटलाई निकास दिनुपर्छ भन्ने सोच र चिन्तन सबैमा हुनुपर्ने हो । पार्टी रहे मात्र सबैको राजनीतिक भविष्य जीवित रहन्छ भन्ने चेतना भइदिएको भए, क्रियाशील सदस्यताको विवाद दुई महिनाअघि नै अन्त्य भइसक्थ्यो । तर पार्टीभन्दा पनि आफ्नो राजनीतिक भविष्यलाई पहिलो प्राथमिकतामा राख्दा कांग्रेसको यो हविगत भएको हो भन्ने विश्लेषण यहाँ गलत हुँदैन होला ।
दुई ठूला कम्युनिष्टहरु तीन महिनाभित्र महाधिवेशन गर्न तम्सिएका छन् । भलै उनीहरुसँग दाँज्न योग्य राजनीतिक दल नेपाली कांग्रेस होइन, तर क्रियाशील विवादमै तीन–तीन महिना खेर फाल्नु चाहिँ कांग्रेसलाई असफल बनाउन खोज्नेहरु हाबी भएका हुन् कि भन्ने आशंका जन्मायो ।
परिस्थिति यस्तो बन्यो, अब तोकिएको मिति तलमाथि गरेर महाधिवेशन गराउन खोजियो भने कांग्रेसको अस्तित्व गम्भीर संकटमा पर्छ । कांग्रेसको अस्तित्व संकटमा परे त्यसको जवाफ सभापति शेरबहादुर देउवाले मात्र दिनुपर्दैन होला, पार्टीभित्रका प्रतिपक्षी पनि उत्तिकै जिम्मेवार हुन्छन् भन्ने कुरा जगजाहेर छ ।
कांग्रेसमा महाधिवेशनको विकल्प छैन । त्यसैले होला सतहमा एउटा रुप देखिए पनि आ–आफ्नो हिसाबले तयारीमा जुटेका छन् । अहिलेको परिवेशमा संस्थापन पक्षविरुद्ध बलियो गठजोड निर्माणको एक्ससाइज भइरहेको छ । त्यसको नेतृत्व रामचन्द्र पौडेलले प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेर गरिरहेका छन् । यसको अर्थ कोइरालाहरु संस्थापन इतरको तेस्रो धार हुन् भन्ने लाग्छ । पहिलो पौडेल, दोस्रो प्रकाशमान सिंह भएपछि कोइराला तेस्रो शक्ति छलफलका लागि चाक्सीबारी पुग्नुपर्ने भएको छ ।
संस्थापन इतरलाई देउवाविरुद्ध सिंगल उम्मेदवार तय गर्न धेरै मेहनत गर्नुपर्ने हुन्छ । आकांक्षी धेरैजना भएपछि कसलाई अगाडि सार्ने भन्ने रणभुल्लामा संस्थापनइतर समूह छ । देउवाविरुद्ध आफूमात्र बलियो उम्मेदवार भएको कन्भिन्स गर्न पौडेल असफल भइसकेका छन् । यद्यपि आफूलाई साझा उम्मेदवार नबनाए क्याम्प नै छाड्ने धम्की दिन वरिष्ठ नेता पौडेलले छाडेका छैनन् ।
त्यसो त पार्टीमा विरासत फर्काउने जिम्मा कोइरालाहरुको हो भन्ने घमण्ड शंशाक, शेखर र सुजतामा विद्यमान छ । यी तीन कोइरालामध्ये को योग्य भन्ने प्रतिस्पर्धा पनि छँदैछ । यद्यपि यस विषयमा खासै विवाद नभए पनि संस्थापन इतरबाट साझा उम्मेदवार कोइराला नै हुनुपर्छ भन्ने एक मतमा अहिलेसम्म खिया लागेको छैन ।
कोइरालाहरु जो उठे पनि आफूभन्दा जुनियर भएकाले सभापति मान्न प्रकाशमान तयार छैनन् । प्रकाशमान आफूलाई संस्थापनइतरको साझा उम्मेदवार बनाउने प्रयासमा लागेकाले उनको जोडघटाउ बेग्लै छ, पौडेल, कोइराला र सिटौलासँग मिल्दैन ।
पार्टीमा तेस्रो शक्तिको परिचय बनाएका कृष्णप्रसाद सिटौलाले यस पटक सभापति पदमा आकांक्षा अहिलेसम्म देखाएका छैनन् । उनको मूल हतियारमा यतिबेला खिया लागेको छ । अर्थात् गगन थापाले नै क्याम्प चेन्ज गरेपछि सभापतिको उम्मेदवार बन्ने आकांक्षा उनले त्यागेका हुनसक्छ । बचेखुचेको शक्तिको दम्भ उनले जुन समूहले सभापति जित्छ त्यत्तै बार्गेनिङ गर्ने मनस्थितिमा छन् ।
को हो त सभापति देउवाविरुद्ध संस्थापन इतरको साझा उम्मेदवार ? यो पेचिलो प्रश्नको उत्तर खोज्न थालेको पनि तीन महिनाभन्दा बढी भइसक्यो । तर अहिलेसम्म टुंगो लागेको छैन । यद्यपि खोजीकार्य निरन्तर चलिरहेकै छ । अझै कति दिन चल्छ, त्यो हेर्न बाँकी नै छ ।
पार्टीमा यसपटक धेरै पद भएकाले मात्र होइन सरकारमा समेत रहेकाले सभापति देउवालाई केही सुविधा पुग्ने अनुमान सबैले गरेका छन् । स्वभाविक रुपमा सरकार र पार्टी दुवैतिर पद विभाजन हुने भएकाले केही सुविधा महसुस गरिएको हुनसक्छ, तर सभापति जिताउने जिम्मा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुकै हो । क्रियाशील विवादपछि सुरु हुने महाधिवेशन प्रकृया कसरी अघि बढ्छ त्यसैले सबै कुरा निर्धारण गर्ला ।




