राजनीति

माधव नेपालसहित सबै केन्द्रीय सदस्य र सांसद ‘क्लोज क्याम्प’मा, अब बुधबार मात्रै काठमाडौं आउने

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल गठनको तयारी गरेका माधवकुमार नेपाल समुहमा रहेका सांसदहरु चन्द्रगिरीमा रहेको एउटा होटलमा पुगेका छन् ।


नेकपा एकिकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका नेता नेपाल समुहका सबै केन्द्रीय सदस्य र सांसदहरु गोप्य रुपमा एउटा होटलमा पुगेको एक सांसदले जानकारी दिए । गोप्य रुपमा एकैठाउँमा जम्मा भएर नयाँ पार्टीको घोषणापत्र र नियमावलीको अन्तिम टुंगो लगाउने विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा सहभागी एकजना नेताले भने,‘हामी क्लोज क्याम्पमा छौं । अब बुधबारसम्म कोही पनि यो बैठक छाडेर ननिस्कन निर्देशन आएको छ ।’ होटलमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर गरेका ५७ जना केन्द्रीय सदस्यहरु रहेको जनाइएको छ ।

निर्वाचन आयोगले आगामी बुधबार सनाखतका लागि एकिकृत समाजवादीका प्रस्तावित केन्द्रीय सदस्यहरुलाई बोलाएको छ । सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारमा रहेका भनिएका स्थायी कमिटि सदस्यहरुका बिचमा भएको छलफलले एमाले एकता जोगाउन भन्दै भीम रावल लगाएतका नेताहरु एमालेमै रहने निष्कर्ष निकालेका छन् ।

अध्यक्ष ओलीले मंगलबार बिहान ११ बजे स्थायी कमिटिको बैठक बोलाएका छन् । जुन बैठकमा तेस्रो धारमा रहेका भनिएका नेताहरु समेत सहभागी हुने बताएका छन् ।

तेस्रो धारमा रहेका नेताहरु एमालेमै रहने निर्णय गरेपनि नयाँ दल दर्ताको प्रक्रिया भने नरोकिने नेता नेपाल समुहका एक केन्द्रीय सदस्य तथा सांसदले बताए । उनले भने,‘तेस्रो धारमा रहेकाहरुको के माग पुरा भयो र उनीहरु केपी ओलीकोमा पुगे त्यसको जवाफ दिनुपर्छ । उनीहरु आएनन् भने पनि हामी अब पछि हट्दैनौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *