धर्म/सस्कृति

गाईजात्रा : काठमाडौँमा मास्क लगाएरै मनाइयो (फोटो फिचर)

काठमाडौँ । कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन्।

स्वास्थ्य सुरक्षा अपनाउँदै काठमाडौँमा निकालिएको गाईजात्रा । तस्बिरः प्रदीपराज वन्त/रासस

नयाँ भेरियन्टसहितको कोरोना जोखिमकाबीच राजधानीवासी भौतिक दूरी कायम गर्दैै गाईजात्रा निकालेर सहरबजार घुमाउँदै हिँडेको देखिन्छ। भिड एकत्रित हुन नदिन प्रहरी पनि बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परिवारबाट पनि तीनदेखि चार जनासम्म सदस्यमात्र शहरमा निस्केको देखिन्छ।

बसन्तपुरमा सोमबार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गाईजात्रा पर्व मनाउँदै काठमाडौँवासी । तस्बिरः प्रदीपराज वन्त/रासस

नेवार समुदायको बाक्लो बस्ती रहेको असन, इन्द्रचोक, क्षेत्रपाटीजस्ता क्षेत्रमा जात्रा लिएर हिँड्नेको सङ्ख्या बाक्लो छ । सङ्ख्या बाक्लो भए पनि समूहमा धेरैमा १० देखि १५ जनासम्म मात्र सहभागी भएका छन् । गतवर्ष कोरोनाकै कारण आफन्त गुमाएका राजेन्द्र श्रेष्ठ सबैको स्वास्थ्य सुरक्षाका लागि गाईजात्रामा सचेतता अपनाइएको बताउँछन्।

सङुखुवासभाको सदरमुकाम खाँदबारी बजारमा सोमबार नेवार समुदायले निकालेको लाखेनाच । लाखे नेवार समुदायको इतिहास र सामाजिक परम्परासँग जोडिएको पर्व हो । तस्विर : भविन कार्की/रासस

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ। राजधानीका तीन जिल्लामा पनि फरकफरक तरिकाले यो जात्रा मनाइन्छ। नेवार समुदायको बाक्लो बस्ती भएका बजार क्षेत्रमा विशेष रुपमा यो पर्व मनाउने गरिन्छ।

बसन्तपुरमा सोमबार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गाईजात्रा पर्व मनाउने क्रममा गाईको रुपमा सजिएका बालकलाई पानी खुवाइँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। गाईलाई वैदिक सनातन धर्मावलम्बीले गौमाताका रुपमा पूजा गर्ने परम्परा छ ।

सङुखुवासभाको सदरमुकाम खाँदबारी बजारमा सोमबार नेवार समुदायले निकालेको लाखेनाच । लाखे नेवार समुदायको इतिहास र सामाजिक परम्परासँग जोडिएको पर्व हो । तस्विर : भविन कार्की/रासस

वैदिकविधि अनुसार गरिने प्रत्येक कर्मको आरम्भमा गोदान गर्ने प्रचलन पनि यसै कारण शुरु भएको वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउँछन्।

गाईजात्राको ऐतिहासिक तथ्य

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन्” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

गाईजात्राको दिन सोमबार कीर्तिपुरमा धेधेपापा नाच प्रदर्शन गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ। कोरोनाका कारण भौतिक दुरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ।

गाईजात्रा (सापारू) को दिन सोमबार ललितपुरस्थित कृष्ण मन्दिर परिसरमा कृष्ण, रूक्मणी, सत्यभामा, बलभद्रको प्रदर्शनी गरिँदै । हरेक वर्ष जाईजात्राको दिन कृष्ण मन्दिरबाट निकालेर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ।

विकृतिका विरुद्ध प्रहार गर्न उपयोग गरिँदै गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कू पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो। संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन्। हास्य व्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

गाईजात्रा ९सापारू० को दिन सोमबार कीर्तिपुरमा धेधेपापा नाच प्रदर्शन गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ/रासस

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । पछिल्ला वर्षमा हास्य कलाकारले गाईजात्रा कार्यक्रमको विशेष आयोजना गर्ने गरेकामा गत वर्षदेखि कोरोनाका कारण प्रभावित भएको छ ।

गाईजात्रा (सापारू) को दिन सोमबार कीर्तिपुरमा धेधेपापा नाच प्रदर्शन गर्दै स्थानीयवासी । चाफल टोलका मृतक परिवारको घरबाट निकालिएको यस नाचमा ह्याउख्वापा, म्हुःकख्वापा, न्याख्वापा, वापाच्या ख्वापा छ गरी नौ जना कलाकार रहने छन् । तस्बिरः रत्न श्रेष्ठ/ रासस

भौतिक रुपमा ठूला हलमा गरिने गाईजात्रा प्रभावित भएपनि हास्य कलाकारले युट्युब च्यानलका माध्यमबाट यसलाई निरन्तरता दिएका छन् । हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ कोरोनाले विगत वर्षमा जस्तो स्टेजमै गएर गाईजात्राको प्रस्तुति गर्न सकिने अवस्था नरहेको बताउनुहुन्छ । कोरोनाकै कारण धेरै कलाकारका पनि आफन्तजन गुमाएकाले पनि यो पर्व खल्लो भएको उनले सुनाए।

आफन्तको मृत्यु भएको सम्झनामा तनहुँको दमौलीमा सोमबार निकालिएको गाईजात्रा । जिल्लाका विभिन्न ठाउँमा सोमबार गाईजात्रा निकालेर मनाइँदै छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ। नेवार समुदायको उपस्थिति भएका शहरमा गाईजात्रा मनाइए पनि तरिका भने फरक पर्ने गरेको छ।

पहिलोपटक नेवार समुदायका कर्मचारीलाई बिदा

भाद्र कृष्ण अष्टमीसम्म विभिन्न नाममा यो पर्व देशका विभिन्न भागमा मनाउने गरिन्छ। सरकारले यसवर्ष पहिलो पटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ। गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ। गाईजात्राका अवसरमा विगत लामो समयदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइँदै आएको छ।

गाईजात्राको दिन सोमबार कीर्तिपुरमा धेधेपापा नाच प्रदर्शन गर्दै स्थानीयवासी । चाफल टोलका मृतक परिवारको घरबाट निकालिएको यस नाचमा ह्याउख्वापा, म्हुःकख्वापा, न्याख्वापा, वापाच्या ख्वापा छ गरी नौ कलाकार रहने छन् । तस्बिरः रत्न श्रेष्ठ/ रासस
पोखरा –८ बगाले टोलमा मृतकको सम्झनामा निकालिएको गाईजात्रामा राधाकृष्णको भेषमा सजिएका बालबालिका । सापारु नेवारी समुदायमा प्रचलित परम्परा हो । तस्बिरः जमुनावर्षा शर्मा/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *