जनकपुर । प्रदेश २ का अधिकांश स्थानीय निकायद्वारा दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको छ । यस प्रदेशका प्रायः स्थानीय निकायले सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता गरेका हुन् । कोभिड–१९ लक डाउन अवधि २०७६ चैत ११ गतेबाट विद्यालय बन्द रहेको अवस्थामा समेत देशभरका ४१ वटा स्थानीय निकायहरूले विद्यालयलाई रकम निकासा गरेको रहेछ। जसमा अधिकांश प्रदेश २ का स्थानीय निकाय रहेको छ।
महालेखा परिक्षकको प्रतिवेदन अनुसार धनुषा जिल्लाका सबैला नपाले रू १ करोड १३ लाख, गणेशमान चारनाथ नपाले ८१ लाख, सिरहाको सिरहा नपाले १ करोड ३८ लाख, रौतहटको फतुहा विजयपुर नपाले ९७ लाख, गरूडा नपाले ७७ लाख गरी देशभरका २८ नपाहरूले २०७७ बैशाख, जेष्ठ र असार महिनामा वास्तविकता एकिन नगरी दोस्रो तेस्रो चौमासिकको सबै दिवा खाजा १४ करोड २१ लाख ६८ हजार ५ सय ८२ रूपैया विद्यालयहरूलाई निकासा गरेको देखिन्छ ।
त्यस्तै विधि दुर्गा भवानी गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गापा रौतहटले ७४ लाख ९९ हजार, छिन्नमस्ता गापा सप्तरीले ५९ लाख ६८ हजार, जनकनन्दनी गापा धनुषाले ५५ लाख ९६ हजार, कोडैना गापा, सर्लाहीले ५४ लाख ७२ हजार समेत गरि कूल १३ वटा गाउँपालिकाहरूले १ सय ६६ वटा विद्यालयहरू लाई २०७७ सालको बैशाख, जेष्ठ र असारमा मात्र दोस्रो र तेस्रो चौमासिकको दिवा खाजा बापत ६ करोड ३ लाख ५६ हजार रकम निकासा गरेको प्रतिवेदनमा उल्लेख छ।
दिवा खाजा वापतको रकम विद्यालयलाई भुक्तानी दिंदा अभिभावकहरू लाई नगद वितरण गर्ने व्यवस्था नभएतापनि रौतहट जिल्लाको परोहा नपाले अभिभावकहरू लाई रू १ करोड १७ हजार नगदै उपलब्ध गराएको समेत प्रतिवेदनमा उल्लेख भएको देखिन्छ।




