काठमाडौं । एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका प्रस्तावित नेकपा (एकिकृत समाजवादी) दलका अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकताका सबै ढोका बन्द गरेका कारण विद्रोह गरेको स्पष्ट पारेका छन् ।
नयाँ दल दर्ताको प्रक्रिया शुरु गरेका नेता नेपालले अध्यक्ष ओलीले आफ्नो समेत पहलमा गठन भएको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा गर्ने काम भएकाले नयाँ दल गठन गरेको दाबी गरेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले भनेका छन्,‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं ।’ उनले नयाँ दल गठन गर्नु बाध्यता रहेको भन्दै सकारात्मक सहयोगको अपेक्षा राखेको समेत बताएका छन् ।
अहिले प्रस्ताव गरिएको दलको केन्द्रीय सदस्यमा साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहेका र विद्रोहको पक्षमा हस्ताक्षर गरेकाहरुलाई मात्रै समावेश गरेको भएपनि आगामी दिनमा आउन चाहने सबैलाई स्वागत गर्ने समेत उनले बताएका छन् । पार्टी दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा भएपछि राष्ट्रिय भेला÷सम्मेलन गरेर अन्यलाई समेत समेट्ने नेता नेपालले बताएका छन् ।




