राजनीति

पार्टी फुटेसँगै माधवलाई को–कसले छोडे साथ

काठमाडौं । नयाँ दल दर्ता प्रक्रियामा अघि बढाएपछि माधवकुमार नेपाल समूह विभाजित भयो । एमाले वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ । लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न निर्वाचन आयोगतर्फ हिडे ।

तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ । स्रोतका अनुसार तीन उपाध्यक्ष ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् । केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ ।

यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *