काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमालेको नेपाल समूह नयाँ पार्टी निर्माणको गृहकार्यमा जुटेको छ । नेपाल समूहले अहिले आफ्नो पक्षमा उभिने केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर संकलन गरिरहेको छ । यो समूहका नेता अहिले बानेश्वरको अर्याल होटलमा जम्मा भएका छन् ।
आज मंगलबार अबेरसम्म हस्ताक्षर संकलन गरेपछि भोलि नयाँ दल बनाउन निवेदन दिने नेपाल समूहको तयारी छ । उपाध्यक्ष बामदेव गौतम पनि आफुतिर आएको नेपाल समूहले दाबी गरेको छ ।
गौतमसँगै सांसद तुलसा थापा र माया ज्ञवाली पनि नयाँ पार्टी बनाउन तयार भएको यो समूहले जनाएको छ । नेकपा एमालेका १ सय २१ जना सांसद छन्।
यस्तै २ सय ३ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा दर्ता छ । ७० भन्दा बढी केन्द्रीय सदस्य र ३० भन्दा बढी सांसदको हस्ताक्षरसहित नयाँ पार्टी बनाउन निवेदन दिने नेपाल खनाल समूहका एक नेताले बताएका छन् ।
स्थायी कमिटीका धेरै सदस्यले भने नयाँ पार्टी बनाउन साथ नदिने भएका छन् । यसअघि नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल, सचिव योगेश भट्टराइ, गोकर्ण विष्ट, भीम आचार्य, नेता सुरेन्द्र पाण्डे लगायतले भने नयाँ पार्टी बनाउन साथ नदिने बताइसकेका छन् ।




