राजनीति

ओलीलाई एमाले फुट्ने डर, मध्यराति गरे यस्तो आह्वान

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सोमबार मध्यराति पार्टी एकताको आह्वान गर्दै विज्ञप्ति जारी गरेका छन् । तर, विज्ञप्तिमा मिति भने उल्लेख छैन ।

प्रतिनिधिसभा बैठक अन्त्य भएसँगै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेपछि ओलीले पार्टी एकताको आह्वान गर्दै विज्ञप्ति निकालेका हुन् । उनले सबै सांसद र केन्द्रीय सदस्यलाई पार्टी एकताको पक्षमा डटेर लाग्न अपिल पनि गरेका छन् ।

ओलीले अध्यादेश ल्याएर सरकारले एमाले फुटाउन खोजे त्यो क्षम्य नहुने चेतावनी पनि दिएका छन् । उनले मंगलबार स्थायी समिति र केन्द्रीय कमिटीको बैठक पनि बोलाएका छन् । सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि ओलीले बैठक आह्वान गरेको एमालेका एक नेताले बताए।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनको मनस्थितिमा पुगेको सुइँको पाएपछि ओली मध्यराति नै जुर्मुराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *