देश

भीम रावलले भने– म एमाले विभाजनको पक्षमा छैन

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । केही समययता माधव नेपाल पक्ष छाडेर केपी ओली गुटमा लागेका रावलले आफू १० बुँदे सहमतिको कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् ।

सोमबार बिहान नेपाली रेडियो नेटवर्कमा कुराकानीका क्रममा नेता रावलले आफू पार्टी एकताको पक्षमा उभिएको पनि बताए । ‘म १० बुँदेको हस्ताक्षरकर्ता हुँ । यसलाई केपी ओली र माधवकुमार नेपाल दुवै नेताले स्वीकार्नुपर्छ । म एकताको पक्षमा उभिएको छु । म एमालेको उपाध्यक्ष हुँ । ओलीलाई नवौं महाधिवेशनले चुनेको नेता मानेको छु । १४, १५ वर्षसम्म पार्टीको नेतृत्व गरेका माधव नेपाल एमालेको सिर्जनाकार हो । आफ्नै सिर्जना कसैले भत्काउन सक्छ ?’ उनले प्रश्न गरे ।

पार्टी कमजोर बनाउने काममा कोही कसैले पनि लाग्न नहुने उनले बताए । ‘एमाले टुक्राउने कामले अन्ततः सबैलाई हानि गर्छ । भोलिको पुस्ताका लागि र देशका लागि एमालेलाई सुरक्षित राख्नु आवश्यक छ,’ उनले भने, ‘अहिले एमाले नै छ । पार्टी विभाजन भएको छैन । अन्तरविरोध र मतभेद समाधान होस् भनेर नेताहरुकै समर्थन र स्वीकृतिमा कार्यदल बनेर १० बुँदे सहमति भएको हो । यतिबेला पार्टी विभाजनको सैद्धान्तिक र नीतिगत आधार छैन । राष्ट्रलाई एकता आवश्यक भएको बेला पार्टी विभाजन घातक हुन्छ । कुराकानी जारी छ, परिणाम आएको छैन । तर वार्ता नहुनुपर्ने, कुरा नहुनुपर्ने कुनै कारण देखिँदैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *