एजेन्सी । तालिवान विद्रोहीले राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएपछि अहिले अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ।
उनीसँगै उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ। सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो। तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्यो।
अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्। अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि नभएको बीबीसीले जनाएको छ ।
एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै गनीले काबुल छाड्नु आफ्ना लागि एउटा कठिन फैसला भएको बताएका छन्। उनले “रक्तपात रोक्नका लागि” उक्त निर्णय लिएको भन्दै स्पष्टीकरण दिएका छन्।




