काठमाडौं । नेपाली कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भएको दाबी गर्छ । आवधिक निर्वाचनलाई उसले लोकतन्त्रको मुटु मान्छ । तर, आफ्नै भ्रातृसंगठनको महाधिवेशन १६ वर्षसम्म नगर्दा पनि कांग्रेस मौन बसेको छ ।
कांग्रेस भ्रातृसंगठन नेपाल किसान संघ डेढ दशकदेखि तदर्थवादमा चलिरहेको छ । संघको अध्यक्षमा भानु सिग्देल अहिलेसम्म कायम छन् ।
नौ वर्षदेखि नेपाल दलित संघको महाधिवेशन भएको छैन । तीन वर्षमा महाधिवेशन गर्ने वैधानिक व्यवस्था गरेको नेपाल तरुण दलको वर्तमान कार्यसमितिले पाँच वर्ष पूरा गरेको छ । संघको पदाधिकारीमा तीनजना मात्र छन् । सुरुमा अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्ष मनोनीत गरिएको थियो । अहिले अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ छन् ।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नौवटा भ्रातृसंस्थाको एकसाथ म्याद थपेको छ । शनिबारको कांग्रेस केन्द्रीय समिति बैठकबाट नौवटा भ्रातृसंस्थाको एकसाथ म्याद थपेर वैधानिकता दिइएको हो ।
२०७३ भदौमा नेपाल विद्यार्थी संघको महाधिवेशन भएयता अर्को महाधिवेशन हुन सकेको छैन । नेविसंघको विधानमा प्रत्येक दुई वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने, महाधिवेशन हुन नसक्ने विशेष अवस्था भएमा थप छ महिना म्याद थप गर्नुपर्ने र त्यस अवधिमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति भंग हुने व्यवस्था छ ।
कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थामध्ये अहिले नेपाल ट्रेड युनियन कांग्रेसबाहेक कुनै पनि संगठन वैधानिक हैसियतमा छैनन् ।




