कञ्चनपुर । ‘राजनीतिमा संलग्न व्यक्तिले छाटो अबधिमै शहर बजारमा घर घडेरी किन्ने तथा गाडी चढ्छ’ भन्ने सर्वसाधारणको बुझाइ छ । पार्टीमा लामो समयदेखि क्रियाशील व्यक्तिले ठेला रिक्सा चलाएर जीविका चलाइरहेको छ । शुक्लाफाँटा नगरपालिका– ११ दीपनगरका ५२ वर्षीय जनक कुँवरले परिवारको खर्च चलाउन एक दशकदेखि ठेला रिक्सा चलाउँदै आएको छ । उनी राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश सदस्य र पार्टीको ट्रेड युनियनको प्रदेश संयोजक हुन् । पार्टीको जिल्ला सचिव हुँदै अध्यक्ष सम्मको जिम्मेवारी उनले वहन गरेको छ ।
सामाजिक क्षेत्रमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि सामुदायिक वनको अध्यक्ष रहेरसमेत उनले कुशलतापूर्वक कार्य सम्पादन गरेको छ । राजनीति र सामाजिक क्षेत्रमा लामो अनुभव सङ्गालेका उनले परिवारको जीविकोपाजर्नका लागि ठेला रिक्सा चलाउँदै आएको छ ।
बिहानको झिसमिसेमै घरबाट नास्ता गरेर ठेला रिक्सा लिएर बजार क्षेत्रमा निष्कने उनी साँझ अबेर मात्रै घर फर्कन्छन् । नौ जनाको परिवार उनकै कमाइमा आश्रित रहेको छ । ठेला चलाएर दैनिक सात सयदेखि एक हजारसम्म कमाइ हुने गरेको छ । त्यही कमाइको पैसाले कुँवर परिवारको चुलोमा आगो बल्ने गरेको छ ।
झलारी, वनसमिति, कलुवापुर बजारमा ठेलामा सिमेन्ट, फर्निचर, फलामे छडलगायतका सामग्री उनले दैनिक रिक्सामा बोक्छन् । कुवँरले पिठ्युमा सिमेन्टका बोरा बोकेर ठेलामा राख्दै गरेको दृश्य यस क्षेत्रका बासिन्दाका लागि नौलो होइन । ठेला चलाएर आएको रकमबाट उनले एक छोरालाई बिएसी र अर्कोलाई बिबिएससम्म पढाएको छ ।
परिवारको खर्च चलाउनका लागि ठेला चलाएर मात्रै नधानिने भएपछि उनले घरमै कर्जा लिएर बाख्रापालन समेत गरेको छ । “सुरुवातमा पाँच बाख्रा पालेको छु’ उनले भने, “यस व्यवसायलाई विस्तारै बढाएर लैजाने योजना छ । बाख्राका लागि घाँसखेती समेत गरेका छौं ।”
व्यावसायिक कार्यमा विपन्न वर्गको पहुँच पु¥याउनका लागि सरकारी पक्षबाट सञ्चालित अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुग्नु हुनुपर्ने उनले बताए । “खेत जोत्नका लागि पावर टिलर ५० प्रतिशत अनुदानमा उपलव्ध भए पनि आर्थिक अवस्थाले नधान्दा ल्याउन सकिएन” उनले भने, “म जस्तै अन्य विपन्नका लागि सरकारले अनुदानका योजना ल्याउनुपर्छ । व्यवसायमा संलग्न भएका र गर्न चाहनेका लागि अनुदान हुनुपर्छ ।”
एक दशकदेखि ठेला चलाउँदै आएका उनी राजनीति गर्ने व्यक्तिले समाजका लागि योगदन दिन सक्नुपर्ने बताउँछन् । “राजनीतिलाई कमाइ खाने साधन बनाइदा राजनीतिक गर्ने व्यक्ति बद्नाम हुन थालेका छन” उनले भने, “राजनीति गर्नेहरु समाजमा सबै भन्दा धनी भएका छन् ।
त्यतिकै बदनामा पनि छन । खुट्टामा चप्पल समेत नहुनेसँग अहिले चढनका लागि चिल्ला कार छन् । आलिसान घर छन् । नत उनीहरुसँग व्यापार व्यवसाय छ । न पुख्र्यौली सम्पत्तिनै थियो ।” राजनीति गर्नेको सम्पत्ति छानबिन गरी भ्रष्ट्राचारमाथि अङ्कुस नलाउँदासम्म समाज र राष्ट्रले फड्को मार्न नसक्ने उनको भनाइ छ ।
राजनीति गर्नेले कुनै न कुनै अर्थोपार्जका लागि घरमै व्यवसाय सञ्चालन गर्नुपर्छ । त्यसो गरिए भ्रष्ट्राचार न्यूनीकरणमा सघाउ पुग्ने उनले बताए । नैतिकता हराउँदै जान थालेकाले राजनीति गर्ने बदनाम भएको चर्चा गर्नुहुँदै उनले राजनीतिमा प्रवेश गर्ने नयाँ पीढिलाई असल राजनीतिक संस्कार दिनु जरुरी रहेको बताए ।
उनी काम नभएका बेला ठेलामै बसेर अध्ययन समेत गर्छन् । राजीतिक दर्शनदेखि समाजका प्रवुद्ध व्यक्तिले लेखेका पुस्तकहरु उनले पढ्ने गर्छन् ।
प्रष्ट वक्ताका रुपमा रहेका कुवँर राजनीति गर्नेका लागि अध्ययन जरुरी रहेको बताउँछन्। राजनीतिमा प्रवेश गरेका युवालाई उनी अध्ययनशील हुनुपर्ने कुरा समेत बताउँछन् । राजनीति कमाउने साधन नभै असल समाज र राष्ट्र निर्माण गर्ने नीति भएको उनको भनाइ छ ।
मजदूरी गरेर जीविकोपाजर्न गर्ने व्यक्तिको एक दशकदेखि ज्याला नबढेकोमा उनी चिन्तित छन् । “दश वर्ष पहिला जुन ज्यालमा मजदूर काम गर्दथे । हाल पनि त्यही ज्यालामा काम गर्नुपरेको छ” उनले भने, “ठेला मजदूरले सामान ढुवानी गरेबापत एक सयदेखि पाँच सयसम्म कमाउने गरेका छन । जसले उनीहरुमा आश्रित परिवारको खर्च धान्न सकिदैन ।”
ठेला व्यवसायसँगै राजनीतिमा संलग्न उनीसँग घरबासका लागि चार कठ्ठा जग्गा सम्पत्तिका रुपमा रहेको छ । भारतमा मजदूरी गर्न गएका बेला उनले अखिल भारतीय नेपाली एकता समाजमा आवद्ध भएर राजनीति सुरु गरेका हुन । विसं २०५५ मा स्वदेश फर्केदेखि सक्रिय रुपमा राजनीतिमा संलग्न रहदै आएको छ ।




