काठमाडौं । कांग्रेसमा जबजब समस्या आउँछ तबतब नेता कृष्णप्रसाद सिटौलाको महत्व बढ्छ । शीर्ष नेतृत्वमा बस्दै आएका सिटौलाकै कारण कांग्रेसमा धेरै विवाद आपसमै निरुपण भएका छन् । कांग्रेसमा सबैलाई मिलाउन सक्ने समन्वयकारी भूमिका खेल्ने भएकाले पनि अप्ठेरो परेका बेला उनको खोजी हुने गरेको हो ।
यसैक्रममा कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहेका बेला पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले विशेष जिम्मेवारी पाएका छन् । टुंग्याउन बाँकी रहेको क्रियाशील सदस्यतासम्बन्धी विवादमा सहमति खोज्न सिटौला सम्मिलित विशेष कार्यदल गठन गरिएको छ ।
क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका आधारमा थप छानविन गरी शतप्रतिशत विवाद समाधान गर्न सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदल बनाइएको छ ।
कार्यदललाई चार दिनको समय दिइएको छ । भदौ २ गते कार्यदलले क्रियाशील विवाद टुंग्याएर सदस्यता सार्वजनिक गर्ने भएको छ ।
कार्यदलमा रहेका तीनैजना नेता नरम र लचक हुन सक्ने भएकाले अब क्रियाशील विवाद सहमतिमै टुंगो लाग्ने धेरैले अपेक्षा गरेका हुन् । कांग्रेस १४औं महाधिवेशनको कार्यतालिका भदौ १८ गते सुरु भएर मंसिर १३ गते सकिने गरी सार्वजनिक भइसकेको छ ।




