सम्पादकीय

देउवाको महिना दिन : अलमल र संशय

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा सरकारको मुलभूत रुपमा दुई काम रहेका छन । कांग्रेस पार्टीको सभापति पनि भएको नाताले ७० बर्ष पुरानो पार्टीको १४ औं महाधिवेशन गर्नु । प्रधानमन्त्रीको हैसियतमा देशमा खस्कदै गएको राजनीति प्रतिको शाख उकास्नु र निष्पक्ष र पारदर्शी निर्वाचन गराउनु । एकछिनलाई देउवाको पार्टीको आन्तरिक किचलोलाइ थाती राखौं ।

उनीसँग अहिले सरकार प्रमुख भएको नाताले शासकीय खुबी प्रयोग गरि जनतालाई राहतको श्वास फेर्ने वातावरण बनाउन भन्ने जनताले चाहेका छन । महिना दिन अघि विश्वासको मत लिदै प्रधानमन्त्री देउवाले यो सरकारको तीन वटा प्राथमिकता रहेको बताएका थिए–खोप,खोप र खोप । अर्थात कोरोना भाइरसविरुद्धको भ्याक्सिन नै सरकारको प्राथमिकतामा परेको प्रमुख विषय थियो । हुनपनि यसो हेर्दा यो विषय स्वास्थ्यसँग जोडिएको विषय जस्तो देखिन्छ तर खासमा यो समस्याले नछोएको कुनै विषय नै छैन । खोप नहुँदा अर्थतन्त्र नै धरायशी भएको छ र देशभरि यसको माग बढेको छ ।

एक्काइसौं शताब्दीको विश्व हाँकिरहेको अमेरिकामा ५७ प्रतिशतले खोप लगाउदिन भने । यसपछि खोपप्रति आकर्षण जगाउन राष्ट्रपति जो वाइडनले खोप लगाउनेलाई सय डलर दिने घोषणा नै गरे । यसपछि पनि खोप लगाउन नमान्ने कति छन कति । तर,नेपाल त्यस्तो होइन,यहाँ खोप लगाउन चाहन्छन तर खोप छैन । सरकारले असोजसम्म एक करोड डोज भन्दा बढी खोप ल्याउँछु भनेको छ र हरेक दिन पाच लाख डोज खोप लगाउन सक्ने क्षमता छ भनेको छ । सरकार सफल भएको नाप्ने यो एउटा यन्त्र हो । तर यो नै सम्पुर्ण चाहि होइन । यसदेखि बाहेक प्रधानमन्त्री देउवा सरकारले गनुपर्ने थुप्रै काम छन । र,यसबीचमा उनले गरेका केही उल्लेखनीय काम पनि छन ।

मनपराइएका काम
-प्रधानमन्त्री निवासमा पार्टीको वैठक नबस्नु ।
-सत्ता गठवन्धनको न्युनतम साझा कार्यक्रम ।
-खोपको आयात र खोप केन्द्रमा वृद्धि ।
-कर्मचारीको नयाँ तलब सुविधा तोकिनु ।
-योजना आयोगमा विश्व पौडेल नियुक्ति ।
-नेपाल विद्युत प्राधिरणमा कुलमान घिसिङको नियुक्ति ।
-लुम्विनी प्रदेश देखि गण्डकी प्रदेशसम्म सरकारमा सहभागी ।
-सेतो हात्ती वनेको भूमि आयोगको खारेजी ।

आलोचना भएका काम
-जयसिंह धामी प्रकरणमा राजनीतिक तदारुकता कम हुनु
-मन्त्रीपरिषदले पूर्णता पाउन नसक्नु
-मलाइ शेरवहादुर देउवा मन पर्छ भन्ने प्रायोजित भिडियो श्रृंखला
-प्रधानमन्त्रीको सचिवालय नै अपूर्ण रहनु
-संसदलाइ विजनेश दिन नसक्नु
-एमसीसीको बारेमा मौन रहनु


महिना दिनमा देउवाले गरेका राम्रा र नराम्रा कामको यो मोटामोटी फेहरिस्त हो । अब देउवा सरकारसँग ओलीसँग जस्तो मानिसहरुले ठूला कुरा खोजेका छैनन । उनीहरुले अकारण बढेको महंगी नियन्त्रण गर,भ्रष्टाचार नियन्त्रण गर भनेका छन । खासमा जनता भ्रष्टाचार, नातावाद, कृपावादले आजित भएका छन । सरकारले सय हजार घुस खानेलाई मात्र होइन,ठूला भ्रष्टाचारको केसमा हात हाल्न सक्नुपर्छ । बालुवाटार जग्गा काण्ड,वाइडबडी,यति,ओम्नी,७० करोडको प्रिन्टिङ प्रेस खरिद प्रकरण,साझा यातायातले ३ अर्ब रुपैया पाएर पनि ल्याउन नसकेको विद्युतीय बसको बारेमा छानवीन अघि बढाउनुपर्छ । जनताले राहतको महशुश यसबाट गर्नेछन । उनीहरुलाई लागेको छ कि जो आएपनि मिलेर खान्छन र हामीलाई बेबकुफ बनाउछन भनेर ।

देउवा सरकार गठवन्धन जारी रहदा अबको १६ महिनापछि निर्वाचनमा जानेछ । यसैपनि अबको ६ महिनापछि स्थानीय तहको चुनावमा जानैपर्छ । यदि गठवन्धनमा समस्या भयो वा संसदबाट महत्वपूर्ण विधयेक पनि पास गर्न नसक्ने अवस्था भयो भने अर्लि इलेक्सनमा जानेछ । जब चुनावी सरकार नै यो हो भने यसले पपुलर काम किन नगर्ने ? र,ध्यान दिन जरुरी छ,यसले यस्तै जनतालाई आकर्षित गर्ने नारा ल्याउला भनेर बजेट ल्याउनुपुर्व नै सरकार ढाल्ने जवरजस्त कोशिश हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *