सामुदायिक विद्यालयबाट प्रवेशिका उक्तिर्ण गरेका धनुषा स्थायी घर भइ विश्व निकेतन उच्च माविबाट १२ कक्षा उत्तिर्ण आशिक झा चिकित्साशास्त्र अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भए । जसलाई सञ्चार माध्यमहरुले आफ्नो प्रमुख समाचार बनाए । सामान्य कृषक परिवारमा जन्मिएर संघर्षमय (लोभलाग्दो) अध्ययन गरेका आशिक र उनका दाजुको जीवनचार्य प्रशंसायोग्य त छदैछ, त्यसका अतिरिक्त उनले नेपालको शिक्षा र त्यसको गुणस्तरका सम्बन्धमा खासगरी हालको २ नम्बर प्रदेशमा के कस्तो अनियमित गतिविधि हुन्छन ? कसरी अध्ययन अध्ययापन चल्छ ? भन्ने सम्बन्धमा उत्कष्ट भएपछि सञ्चार माध्यमले जसरी प्रस्तुत गरे, त्यसले नेपालको नीति निर्माण तहमा रहनेहरुलाई झापड मात्र लगाएको छैन, राजनीति गर्ने व्यक्तिहरुको दृष्टिकोणप्रति पनि गम्भीर प्रश्नचिह्न लगाएको छ । आफ्नो क्षेत्र, वर्ग र समुदायको मुद्दालाई उठाएर राजनीतिक लाभ लिनेहरुले भुइतहमा नपु-याएको दृष्टिप्रति समाज सम्वेदनशील बन्नुपर्ने सन्देश पनि दिएको छ ।
उत्कृष्ट हुनको लागि महँगो आवासीय विद्यालयमा नै अध्ययन गरेको हुनुपर्छ भन्ने एकाध बुझाईलाई चुनौति दिएका छन्– मेघावी विद्यार्थी झाले । अभिभावकको निगरानीमा रहन वा नरहन भन्दा पनि आफ्नो लक्ष्य र उद्देश्यप्रति दृढ रहेर त्यसमा ध्यान केन्द्रीत गर्न सक्यो भने सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्– झा । उनले आफ्नो विपन्नतालाई कहिल्यै कमजोर ठानेका छैनन् । बरु आत्मविश्वास र संकल्पका साथ अगाडि बढ्ने पे्ररणा दिएका छन् । त्यत्ति मात्र नभएर राजधानीका महँगा कलेजहरुले लिने शुल्क र देखाउनुपर्ने श्रोत अनि अभिभावकले दिनुपर्ने ग्यारेन्टी (सुनिश्चितता) जस्ता पूर्वसर्तहरु पनि सतहमा ल्याइदिएका छन् । उनको अभिव्यक्तिले सम्बन्धित सरोकारवालाहरु सबैलाई झस्काउने, व्यूझाउने काम गरेको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । आफ्नो क्षेत्र, समुदाय हुँदै राष्ट्रिय चरित्रको यस किसिमका पर्दाफास भरखर आठ लागेको केटा÷केटीले गर्छन् भन्ने थिएन होला । तर झाले समग्र शैक्षिक, सामाजिक र राजनीतिक अवस्थाको चरित्र चित्रण गरेर दुनियाँलाई आफ्नो सर्वोत्कृष्टताको परिचय दिएका छन् । निजी विद्यालय र कलेजहरुले गुणस्तरीय शिक्षाको भ्रम कसरी छरेका छन् ? शुल्क कसरी असुल्छन् ? व्यापारिक मानसिकता कस्तो छ ? भन्ने स्पष्ट सन्देश समेत दिएका छन् । सरकार, शिक्षा मन्त्रालय, बौद्धिक समुदाय, राजनीतिकर्मी र शिक्षा व्यवसायी सबैले आफ्ना तमाम नीति, नियम, योजना कार्यक्रम र गतिविधिको समीक्षा गर्नुपर्ने दबाब सिर्जना गर्ने काम आफ्नो सर्वोत्कृततामार्फत् आशिकले गरेका छन् ।
राज्य व्यवस्थाको समवेदनाहिनताको बाबजुद निस्कने एकाध आशिकहरुले दिने चुनौतिप्रति गम्भीर हुने फुर्सद नीति निर्माताहरुलाई छैन ।
राज्यको क्षमताअनुसार शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी बराबर भएको छ । त्यसले दिनुपर्ने योगदान दिएको छैन । सरकारी स्कुलका प्रधानाध्यापक आफ्नो नानीबाबुलाई नजिकैको निजी स्कुलमा टाइ लगाएर पु-याउँछ र आफ्नो स्कुल फर्किन्छ । उसलाई आफूले नेतृत्व गरेको विद्यालयले दिने शिक्षाप्रति विश्वास छैन । विश्वास नै नभएको संस्थाबाट सेवा सुविधा लिएर निजी विद्यालयमा पठाउन पठाउने सरकारी शिक्षक वा कर्मचारीमाथि कारबाही चलाउने क्षमता राज्यको छैन । राज्य व्यवस्थामा व्यवसाय चलाएका मानिसहरुको बोलावाला छ । उनीहरु जे गर्न खोज्छन्, त्यसमा सहजीकरण गरिदिने काम राज्यको तर्फबाट हुने गर्दछ । निजी व्यवसाय चलाउर नाफा आर्जन गरेका व्यक्तिहरुले राजनीतिक नेतृत्वलाई रिझाएर उपल्लोस्तरको जिम्मेवारी प्राप्त गर्ने र व्यवसायिक स्वार्थ पूरा गर्नेहरुकै बाहुल्यता छ । यसलाई टेवा पु-याउने काम राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रले गरेको छ । राज्य व्यवस्थाको समवेदनाहिनताको बाबजुद निस्कने एकाध आशिकहरुले दिने चुनौतिप्रति गम्भीर हुने फुर्सद नीति निर्माताहरुलाई छैन । राज्यभन्दा शक्तिशाली भएका दलाल, विचौलिया र माफियाहरुले उपलब्ध गराउने सेवा सुविधाबाट लाभान्वित हुनु जति सजिलो संरचनात्मक सुधार गर्नु गराउन हुँदैन । यहाँका राम्रा विद्यार्थी कि यूरोप, अमेरिका जाउन, किन खाडी मुलुकमा पाखुरा बझारुन । उनीहरुले पठाएको रेमिटेन्सबाट राज्यको अर्थव्यवस्था धानौला भन्ने सोचेर मानसिकताबाट ग्रसित राजनीतिक र प्रशासनिक नेतृत्वबाट खासै अपेक्षा नगर्दा हुन्छ । आवश्यक परेको खण्डमा तिनै माफियाहरुले सञ्चालन गरेका निजी विद्यालय तथा कलेजहरुमा आफ्ना छोराछोरीलाई निःशुल्क पठाउने सुविधा प्राप्त भएकै छ ।
नीतिगत र संरचनागत सुधार गरेर आम जनताको चाहना र भावना बमोजिम काम गर्दा प्राप्त के नै हुन्छ र ? भन्ने सोच चिन्तनले कहिलेकाहिँ आशिक झाहरु जन्माउने त गर्छ तर त्यसले ब्यूझाउनुपर्ने वर्गलाई पोल्दैन, घोच्दैन । परिणाम आयो, समाचार बन्यो, तर त्यसले गरेको मात्र र आग्रह सम्बोधन गर्न सरोकारवालाहरु तयार छैनन् । राज्यका सूचना र सम्भावना, साधन र श्रोत अरुलाई बुझाएर आफ्नो व्यक्तिगत स्वार्थ, यस आरामको जीवनको परिकल्पनाकारहरुबाट राज्य व्यवस्थाको चरित्र बदल्ने अपेक्षा नै लत होला कि ?
रहेका व्यक्तिहरु यस्ता घटनाक्रमहरुबाट अति गम्भीर र सम्वदनशील हुनुपर्ने हो । समाजका यस्ता विषयहरुले निन्द्रा नलाग्नुपर्ने हो । हामीले के गर्छौं, के गर्दैनौं भन्ने जनताले हेक्का राखेका छन् । हाम्रो उठबस र खानपिन कुन वर्गसँग छ । हाम्रो नीति नियम योजनाले कुन वर्गको सेवा गरेको छ ? यसमा सुधार किन आवश्यक छ ? एउटा व्यक्तिले राम्रो काम गर्दा आम मानिस उसको निरन्तरताको पक्षमा उभिँदो रहेछ भन्ने एक दुई घटना छन् । त्यसबाट कामकाजीहरुले धेरै सिक्नुपर्ने होइन ? हाम्रा नीति र कार्यक्रम देशमुखी उत्पादनोम्ुख छैनन ? साधन, श्रोतको मात्र कुरा भएन मानव श्रोत पनि पलायन भएको छ । यसलाई देशभित्र काम दिने तर्फ हाम्रो खै अग्रसरता ? दिनहुा बाकसमा आएको लास हेरेर पनि प्राथमिकता निर्धारण हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । खोप लगाएको प्रमाणपत्र लिन बसेको लाइन देख्दा होस् वा रोजगारीका लागि भारत जान पश्चिम नेपालको बोर्डरमा देखिएको भीड नै किन नहोस् यसले समस्या पहिचान त गरेकै छ, तर समाधानको खाका बनाउन कसैलाई पे्ररित गर्दैन । यो विडम्बनाको निरन्तरतामा नै भए पनि चिकित्साशास्त्र अध्ययनका लागि सर्वोत्कृष्टता हासिल गरेका आशिकले सशक्त धक्का चाहिँ दिएकै हुन् ।




