विचार

युवा अवसर बनुन्, चुनौती होइन : विमलेन्द्र निधि

राष्ट्र निर्माणमा संख्यात्मक हिशाबले युवाहरूको अधिकतम सहभागिता लिन सकिने अवसर अहिले नेपाललाई छ। कूल जनसंख्याको झन्डै ४० प्रतिशत हाराहारीमा उर्जावान युवाशक्ति अहिले हाम्रो साथमा छन्। हामीले युवाशक्तिको उर्जालाई राजनीतिक नेतृत्वमा रहेकाहरूको अनुभवसँग गाँस्न सक्नुपर्छ।

युवा शक्ति हाम्रा लागि अवसर हुन्। तर, यी ‘अवसरहरूको’ सहभागिता, सम्मान र परिचालन न्योचित हुन नसके चुनौती पनि हुन्। हाम्रा अहिलेसम्मका सामाजिक राजनीतिक आन्दोलन, क्रान्तिमा युवाहरूको सहभागिता र अग्रसरता उल्लेखनीय छ। तर, उनीहरूको उल्लेख्य योगदानअनुरूप अवसरहरू सृजिएका छैनन्।

जबजब पछिल्लो पुस्ता आफ्नो क्षमताकै बलमा अघि बढ्न खोज्छ तबतब पुरानो पुस्ता अवरोध बनेर उभिदिन्छ। खासगरी राजनीतिमा युवा पुस्ताको जोस, जाँगर, क्षमता र काम गर्ने इच्छाशक्तिको नजरअन्दाज ज्यादा छ। आफूहरूलाई नजरअन्दाज गर्ने नेतृत्वसँग युवाशक्ति लम्पसार पर्दा त्यसले उनीहरूलाई मात्रै हैन कि सिङ्गो देशलाई नै पछाडि धकेलिरहेको छ।

त्यसैले अवसर सृजना गर्ने र उक्त अवसरलाई नतिजामा पुर्‍याउने काममा युवा स्वयंको सहभागिता र नेतृत्व जरूरी छ। यसबाट बञ्चित पार्ने प्रयास कहिँकतैबाट हुन्छ भने त्यसको डटेर सामना गर्न युवाशक्ति सदैव तम्तयार रहनुपर्छ।

मेरो आफ्नै राजनीतिक जीवनको पहिलो महत्वपूर्ण खुड्किलो पनि डटेर सामना गर्दै पार गरेको हुँ। म युवालाई यो अपिल पनि गर्दछु कि, तपाईं योग्य र सक्षम हुनुहुन्छ भने कसैले बाधा पुर्‍याउँदैमा नरोकिनुस्, सङ्घर्ष गर्नुस्, आवश्यक परे आफै अग्रसर हुनुस्। किनकि योग्यता र क्षमताले तपाईंलाई त्यो अधिकार दिन्छ पनि।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *