काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएपछि भेला र बैठक तीव्र पारिएको छ ।
सोमबारदेखि नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिको भेला बुधबार सकिएको थियो । बुधबारदेखि नै संस्थापन पक्षको जिल्ला सभापतिको भेला सुरु भएको छ । बुधबार भर्चुअल माध्यमबाट भेला भएको थियो । बिहीबार भौतिक रूपमै ललितपुरको समिट होटलमा भेला सुरु भएको छ ।
केन्द्रीय समिति बैठकको रणनीति तयार गर्न बुढानिलकण्ठमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी छ । आज दिउँसो केन्द्रीय समितिको बैठक बस्दैछ ।
बैठकमा देउवा पक्षीय केन्द्रीय सदस्यहरुले पार्टीको चौधौं महाधिवेशनको विधि र प्रक्रिया, संवधौनिक व्यवस्था, निर्वाचन आयोग र अदालतको कदमका विषयमा रणनीति तय गर्नेछन् । देउवा पक्षीय नेताहरु नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भदौमा पार्टीको वडा अधिवेशन सुरु गरेको ४६ औं दिनमा केन्द्रीय सभापतिको निर्वाचन हुने गरी दिएको नयाँ महाधिवेशन तालिकाअनुसार अघि बढ्न सहमत देखिएको एक नेताले जानकारी दिए ।
देउवापक्षीय जिल्ला सभापतिहरुले कोरोना महामारीका कारण महाधिवेशन हुन नसकेको स्थितिमा नेतृत्वलाई मात्र दोष दिन नमिल्ने निष्कर्ष निकालेका छन् । उनीहरुले भदौमा वडा अधिवेशन गरी मंसिरमा केन्द्रीय महाधिवेशन हुने गरी सभापति देउवालाई सुझाव दिने भएका छन् ।
कांग्रेस सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच महाधिवेशन सार्ने विषयमा मोटामोटी सहमति भएको बताइन्छ । पौडेल असोज र देउवा मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।




