रिबन

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएकोले अब कसरी अगाडी बढ्ने भन्नेबारे छलफल हुने छ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ। तर कहिलेसम्म कसरी सार्ने भन्ने विषयमा रामचन्द्र पौडेल र सभापतिबीच अझै सहमति हुन सकेको छैन ।

कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो । क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन् । तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो । विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा ठूलो चुनौती छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *