काठमाण्डौं । आम जनताका लागि बुधवार एकसाथ तीन सुखद खवर आए ।
एक – नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कम ब्याक
दुई – लुम्विनी प्रदेशबाट शंकर पोखरेलको राजीनामा र २४ घण्टाभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुखको आह्वान
तीन – नेपाल रेल वे कम्पनीबाट ओलीका परमभक्त गुरु भटटराइको राजीनामा
पूर्वप्रधानमन्त्री केपी ओलीले मंगलवार संसदमा आफैले विघटन गरेको संसदमा डेढ घण्टासम्म कुर्लिएको भोलिपल्ट भएका यी तीन धक्का हुन । अब वाँकी प्रदेश १ र वागमती प्रदेश मात्र छन ।
कुल १२१ सिट जितेको नेकपा एमालेमा माओवादीसमेत मिसिएपछि संसदमा यसको आकार भीमकाय बन्यो । यसमाथि तत्कालिन संघीय समाजवादी पनि यहि लहरमा मिसियो । सरकार यति बलशाली भयो कि मानिसहरु उक्त सरकार गठवन्धनको हो भन्ने नै भुले । सुरुमा माओवादी र समाजवादीसँग गठवन्धन गरेर बनेको सरकार माओवादीसँग पार्टी एकता नै भएपछि सुविधाजनक दुई तिहाइ नजिकको सरकार बन्यो ।
केन्द्रमा नेकपाको सरकार थियो । प्रधानमन्त्री केपी ओली थिए । देशको सात वटै प्रदेशमा नेकपाको सरकार थियो । यसमध्ये पनि ४ प्रदेशमा एमालेको र २ प्रदेशमा माओवादी र प्रदेश २ मा मधेशी दलको सरकार थियो । कांग्रेस संघीय संसदमा मात्र होइन,प्रदेशमा पनि नराम्रोसंग हारेको थियो । पाँच बर्षसम्म सरकारमा जाने कुरा उसकोलागि सपना नै थियो । बारम्वार कांग्रेससभापति शेरवहादुर देउवाले–संख्या नै छैन,कसरी सरकार बन्छ ? भनेका थिए ।
तर,सरकार बनाउन उनको घरमै पुगेका नेता र दललाई समेत हुदैन भनेर फर्काउने देउवा अचानक साढे तीन बर्षपछि प्रधानमन्त्री भए । आजको स्थिति कस्तो भएको छ भने केन्द्रमा ओली सरकार मात्र ढलेको छैन । आजको उनको हातमा नेकपा छैन,दुई तिहाइ छैन । हुँदा हुँदा एमाले पनि छैन । आफै शक्तिशाल हुने गरि पार्टी विधान एकतर्फी ढंगबाट चलाउन थालेका ओलीको विरुद्ध अब माधव नेपाल समुहले तल्लो तहसम्म समानान्तर कमिटी बनाउने निर्देशद दिइसकेको छ । र, पनि उनी चाहि अबको संसदमा ठूलो दल हुने र प्रधानमन्त्री हुने बताइरहेका छन । यो कस्तो असंगत चाहना हो ?
प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा ओलीले देखाएको दम्भ,एक्लै हिंडने रुची र देखाइदिन्छु भन्ने इगोले दुई तिहाइ गुमाएका ओली अहिले रोइकराइ गर्न थालेका छन ।
ओलीको हातमा अझै पनि थोरै राजनीतिक दाउ बाँकी छ र उनी यहि दाउको प्रयोग गर्दै नियमित भन्दा पनि अर्लि इलेक्सनमा जाने वातावरण निर्माण गर्न खोजिरहेका छन ।




