लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

आज बिहान मुख्यमन्त्री निवासमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले नयाँ परिस्थितिमा अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको थियाे ।

प्रदेश सभाको विशेष अधिवेशन शुरु हुनु अघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

प्रदेश सभाको विशेष अधिवेशनमा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलपछि आजै निर्णयार्थ प्रस्तुत हुने भएपछि बैठक अघि नै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।प्रदेशसभामा एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनमा काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन्।प्रदेशसभामा हाल ८० सदस्यीय छ । नयाँ सरकार बनाउन ४१ सांसद आवश्यक पर्छ, जुन बहुमत काँग्रेससहितका विपक्षी गठबन्धनसँग छ ।

विपक्षी गठबन्धनले १९ साउनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *