देश

लुम्बिनीका मुख्यमन्त्री पोखरेल राजीनामाको ‘मुड’ मा

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २१ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ ।

लुम्बिनीमा सत्तारुढ एमालेसँग ३८ जना सांसद छन् । गठबन्धनमा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका एक गरी ४१ जना सदस्य छन् । सोही कारण पोखरेल स्पष्ट अल्पमतमा परेका छन् ।

प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वोच्चले सदर गरी दिएपछि प्रदेशसभा ८० सदस्यीय बनेको छ । भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेयले मंगलबार राति पदबाट राजीनामा दिएका छन् । जसपाबाट मन्त्री बनेका अर्का एकजनाले पनि आज राजीनामा दिने बताइएको छ । सोही कारण संसदमा अविश्वासको प्रस्ताव फेस गर्नुभन्दा राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पोखरेल पुगेको उनी निकट स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *