संसद

कांग्रेस सांसद रायमाझीले ओलीलाई भ्रष्टाचारीको राजनेता भनेपछि एमाले सांसदको अनुहार रातो

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद रायमाझीले सो आरोप लगाएका हुन् ।

एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रको आलोचना गरेपछि रायमाझीले कडा प्रतिवाद गरेका हुन् । भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी टिप्पणी गरेका थिए । उनीपछि बोलेका रायमाझीले केपी ओली भ्रष्टाचारीका राजनेता, भ्रष्टाचारका महानायक भएको भनिएको खण्डमा स्वीकार्न सकिने बताए ।

‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्था कसले ल्यायो ? हामीले ल्याएको हो ?’ उनले भने, ‘भ्रष्टाचारका महानायक, भ्रष्टाचारी राजनेता भन्नुस् म स्वीकार्न तयार हुन्छु । भ्रष्टाचारीलाई राजनेता भन्ने ?’

उनले ओली नेतृत्वको सरकारका पालामा भएको औषधि खरिदको अनियमितताबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको मागसमेत गरेका छन् । ‘ओली सरकारले औषधि खरिद गर्दा अरबौं भ्रष्टाचार भएको छ । यसबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गरियोस् । सामन्त गोयललाई रातारात बालुवाटार छिराएको कल्ले ? अहिलेको सरकारले गर्‍यो ? होइन केपी ओलीले गरे । अनि उनी राष्ट्रवादी ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *