काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भएकी छन् । एमालेमा देखिएको किचलोमा अध्यक्ष केपी ओलीलाई बलियो बनाउन उनी सक्रिय भएकी हुन् ।
राष्ट्रपति भए पनि भण्डारीले एमालेकै उपाध्यक्ष जस्तो व्यवहार देखाउँदै आएकी छन् । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमुक्त एमाले बनाउने विचार सार्वजनिक गरेपछि भण्डारीले नेपाल पक्षका नेतालाई शीतल निवास बोलाउन थालेकी हुन् ।
भण्डारी र एमाले उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म भण्डारी र रावलबीच छलफल भएको बुझिएको छ ।
भेटका क्रममा एमाले भित्रको विवाद तथा समसामाहिक विषयमा छलफल भएको जनाएको छ। रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी ओलीसँग नजिकिएको चर्चा चलेका बेला भण्डारीसँग उनको भेटवार्तालाई चासोको रुपमा हेरिएको छ ।
यसअघि पनि भण्डारीले एमालेमा माधव पक्षका युवा नेताहरूलाई शीतल निवास बोलाएर फकाउने गरेकी थिइन् । भण्डारी नेता माधव नेपालसँग निकै आक्रोशित छिन् । माधवकै कारण केपी ओलीको प्रधानमन्त्री पद गुमेकोमा भण्डारी असन्तुष्ट रहेको बताइएको छ । त्यसैले अहिले उनी खुलेआम एमाले विवादमा ओली गुट बलियो बनाउन सक्रिय भएकी हुन् ।




