राजनीति

आयोगसँगको परामर्शपछि महाधिवेशन सार्न कांग्रेसमा सहमति

काठमाडौं । निर्वाचन आयोगको परामर्शपछि नेपाली कांग्रेसको महाधिवेशन सार्ने पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला सहमत भएका छन् । मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने कुरामा सभापति देउवा र महामन्त्री कोइराला एकमत देखिएका छन् । भदौमा महाधिवेशन गर्न सम्भव नभएको भन्दै मंसिरसम्म सार्न सकिने महामन्त्री कोइरालाको भनाइ छ ।

भदौ १६–१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि महाधिवेशन सार्ने गृहकार्यमा काँग्रेस लागेको हो । साउन ९ गतेको काँग्रेस पदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन स्थगन गरेपछि भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो ।

नेपाली कांग्रेसले २०७२ फागुन २३ गते १३ औं महाधिवेशन सम्पन्न गरेको थियो । कांग्रेसले महाधिवेशन गरेको भदौ २३ गते ५ वर्ष ६ महिना पुरा हुँदैछ । नेपालको संविधानको धारा २७९ काे उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्र कार्की निर्वाचन आयोगसँग परामर्श गरी महाधिवेशन सार्ने कानुनी आधारको खोजीमा लागे । महाधिवेशन सार्नेबारे कानुनमन्त्री कार्कीले पनि कानुन मन्त्रालयका सचिव, प्रमुख निर्वाचन आयुक्तसहिताका पदाधिकारी र महान्यायाधीवक्तासँग कानुनी परामर्श लिए ।

साउन दोस्रो साता कानुन मन्त्रीसँगको भेटमा पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिरसम्म महाधिवेशन सार्ने कुरामा समस्या नहुने सुझाएका थिए । त्यसपछि सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अनुसार ४ महिना महाधिवेशन सार्ने गरी काँग्रेस नेताहरु अगाडि बढेको पाइएको छ ।

संस्थापन पक्षका एक नेताले भने ‘सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अनुसार मंसिर मसान्तसम्म निर्वाचन आयोगका पदाधिकारीले शुन्य समयका नाममा महाधिवेशन गर्न स्वीकृत दिने छ । काँग्रेसका लागि त्यति सहजता प्रधान गरिदिन निर्वाचन आयोग तयार छ ।’

सोही अनुसार साउन २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने नयाँ कार्यतालिका ड्राफ्ट तयार पारिरहेको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने काँग्रेसले जनाएको छ ।​

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *