देश

कोरोनाको असर, ३५ हजार चलचित्रकर्मी बेरोजगार

काठमाडौँ । डेढ वर्षदेखिको कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र मनोरञ्जन क्षेत्र हो । गीत, संगीत, चलचित्र, रंगमञ्च सबै अहिले धराशयी बनेका छन् ।

कोरोनाका कारण फिल्म क्षेत्रमा लगानी भएका करोडौं रुपैयाँ खेर भएका छन् । कति फ्रिज भएका छन् । कलाकारहरू यो क्षेत्रबाटै पलायन हुन थालेका छन् । केही समयअघि चलचित्र विकास बोर्डले कोरोनाका कारण झन्डै ३५ हजार चलचित्रकर्मीको रोजगारी संकटमा परेको जानकारी गराएको थियो ।

वर्षमा सयभन्दा बढी फिल्म प्रदर्शन हुने यस क्षेत्रमा लामो डेढ वर्षदेखि शून्यता छ । २०७६ अन्तिममा कोरोना संक्रमण देखापर्न सुरु भयो । उक्त वर्ष महामारीअघि ५५ वटा नेपाली फिल्म प्रदर्शनमा आएका थिए । २०७७ मा ७१ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत मागेका थिए । बोर्डको फिल्म निर्माण शाखाका अनुसार २०७८ असार २३ सम्ममा आठ फिल्म दर्ता भएका छन् । यसबीच निषेधाज्ञा खुकुलो हुँदा केही फिल्म निर्माण पनि भए । तर ती सबैको प्रदर्शन अझै अनिश्चित छ ।

छायांकनमा जान तयार, बीचमै रोकिएका र प्रदर्शनका लागि तयार ८० फिल्मको आँकडा निकाल्दा एक अर्ब ५० करोड रकम फ्रिज भएर बसेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । यो क्षेत्रबाट कलाकारहरू पलायन हुँदा कोभिडपछि फिल्म क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने उनको भनाइ छ ।

फिल्ममा लगानी गर्नेहरूको चिन्तासँगै बन्द रहेका हलहरू कहिले खुल्ने भन्नेमा अझै अन्योल छ । यो डेढ वर्षको अवधिमा देशभरका २८ सिनेमा हल बन्द भइसकेका छन् । हल बन्द हुने क्रम जारी छ । यदि कोरोनाको तेस्रो लहर आएमा थप सिनेमा हल बन्द हुने चलचित्र व्यवसायीहरू बताउँछन् ।

चलचित्र क्षेत्र बन्द भएपछि नाम चलेका कलाकारहरू सबै अन्य पेसा व्यवसाय अपनाउन थालेका छन् । हिजो भ्याइनभ्याई भएका कलाकार अहिले फुर्सदमा छन् । केही भने म्युजिक भिडियोमा खेलेर चित्त बुझाउन बाध्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *