सम्पादकीय

गठबन्धनका अनेक सकस

पाच दलीय गठवन्धनको बलमा पाचौं पटक प्रधानमन्त्री भएका प्रधानमन्त्री शेरवहादुर देउवा आफू सहित पाँच जना मन्त्रीबाट देश चलाइरहेका छन । ७५ बर्षिय देउवा एक्लैले १७ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन । संसदमा जम्मा २३ जना निर्वाचित सांसद भएको दल नेपाली कांग्रेसको सभापति भएका देउवा गठवन्धन सरकार चलाउन माहिर भनेर चिनिन्छन । अर्थात,उनी कसलाइ के दिनुपर्छ दिएर काम चलाउने पात्रको रुपमा चिनिएका छन । तर,यसपटक सरकार बन्यो,छापामार शैलीमा उनले १६५ जना सांसदको विश्वास बटुल्न पनि सफल भएका छन तर पनि मन्त्रीमण्डल विस्तारमा सफलता पाएका छैनन ।

अघिल्लो सरकार भन्दा नितान्त फरक छ यो सरकार भन्ने सन्देश दिन सरकार बनेर मात्र पुग्दैन । यसको लागि सरकार जनप्रिय काम गर्नुपर्छ । यतिबेला राष्ट्रका सामु दुई ठूला संकट छन–

एक,कोभिड–१९ विरुद्धको लडाई ।
दुई, डोलायमान भएको अर्थतन्त्र उकास्ने ।


यी दुवै कामको लागि सरकारले पूर्णक्षमतामा काम गर्नुपर्छ । तर यो गठवन्धन सरकार हो । सहमतीय सरकारमा प्रधानमन्त्रीको मात्र भूमिका रहदैन । यसमा गठवन्धनका घटकहरुको वरोवर भूमिका रहन्छ । सरकार मात्र होइन,सिंगो गठवन्धनको ध्यान नै अहिले मन्त्रीपरिषद विस्तार गर्ने कि पार्टी जोगाउने भन्ने अवस्थाको छ । अर्थात हरेक राजनीतिक दल पार्टी नभएर गुटहरुको महासंघ जस्तो भएका छन । साच्चै भन्ने हो भने गठवन्धनलाई केपी ओली सरकार ढाल्न जति कठिन भयो नयाँ सरकारमा कसलाई मन्त्री बनाउने भनेर ब्यक्ति छान्नको लागि त्यो भन्दा सकस परेको छ ।

केपी ओलीको सरकारले राम्रो काम गर्न सकेनन भनेर तिव्र असन्तोष भएपछि बनेको यो नयाँ सरकारले कामको थालनी न्युनतम साझा कार्यक्रम तयार पारेर गर्नुपर्थ्याे । सरकारले के गर्ने र यसको लागि गठवन्धनकारी शक्तिबीच कस्तो तालमेल हुनुपर्ने भन्ने तय हुनुपर्थ्याे । बडा लोसो पारामा न्युनतम साझा कार्यक्रम बल्ल तयार भएको छ । यसले राम्रो सन्देश दिएको छैन ।

हुनत गठवन्धनकारी शक्तिले मन्त्रीपरिषद गठनमा ढिलाई नभएको तर्क पनि गर्न सक्छन तर कस्तो अवस्थामा सरकार बनेको छ र यसका सामुन्नेका चुनौती कस्ता छन भन्ने कुरालाई हेक्का राख्नुपर्छ । चुनौतीलाई ध्यान दिएर हेर्ने हो भने सरकारलाई एकदिन पनि बिलम्व गर्ने,वालुवाटारको चौघेरो भित्र रमाएर बस्ने वा यो संकटको घडीमा उद्घाटन र खादा माला गरेर बस्ने छुट छैन । मन्त्रीपरिषद सानै आकारको पनि हुन सक्छ यो जनतालाई सरोकार भएको विषय होइन । कुरा यति हो कि भएकै मन्त्रीपरिषदले पनि जनताको ओठमा खुशी ल्याउने गरि काम गर्नुपर्छ । तर,मन्त्रीपरिषद विस्तार र यसकै लागि गठवन्धनकारी शक्तिको बीचमा निरन्तर रिले दौड हुनु भनेको राष्ट्रिय लज्जाको विषय हो । सरकारले सवैभन्दा पहिला आफनो लक्ष्य तोक्नुपर्छ । यसपछि कसरी लक्ष्य प्राप्ति गर्ने भन्ने बाटो तय गर्नुपर्छ । तर,यसो नगरि सरकार चल्यो भने–म जिन्दगीभर हिंडिरहें तर कहिं पनि पुगिनछु भन्ने गीत जस्तो हुनेछ ।

देउवा नेतृत्वको गठवन्धन सरकारलाई जनादेशले होइन,परमादेशले बनाएको भनेर वालुवाटारबाट बालकोट पुगेका केपी ओली सहितको टिमले आक्षेप लगाइरहेको छ । अर्थात उनले आफुलाई जनताले म्यान्डेट दिएको तर देउवालाई भने अदालतले प्रधानमन्त्री बनाइदिएको भनिरहेका छन । अब देउवाको चुनौती नै यहिनेर छ । उनले अब प्रमाणित गर्नुपर्नेछ कि म जनताको प्रतिनिधि हो भनेर ।


त्यसो त उनी डडेल्धुराबाट निर्वाचित सांसद हुन । यसमानेमा उनले जनताबाट निर्वाचित भनिरहन पर्दैन । यो सोझो कुरा भयो तर उनले म जनप्रतिनिधि हो भनेर यसैकारण झन बढी प्रमाणित गर्नुपर्नेछ । अर्थात,नेपालका नेता जब निर्वाचित हुन्छन तब उनीहरु सेवक नभए शासक हुने मनोवृत्ति छ । अझ राज्य सत्ता नै सञ्चालन गर्न थालेपछि उनीहरु आफूलाई झन ठुलो शासक ठान्दछन । यसैकारण म जनताको सेवक हो भनेर जनचाहना अनुसारको काम गरेर देउवाले देखाउनुपर्नेछ ।

यसैकारण उनले सरकारको प्राथमिकता तोक्नुपर्छ । तडकभडक रोक्नुपर्छ । खस्कदै गएको राजनीतिकर्मी प्रतिको साखलाई पुन जागृत गर्नुपर्छ । राष्ट्रिय हितमा एकइन्च पनि सम्झौता गर्नहुन्न । के यी सवै काम उनले अघिल्ला प्रधानमन्त्री अ‍ोलीले जस्तै भाषणबाट गर्न सक्छन ? देउवाको अभिब्यक्ति त्यति धारिलो छैन भन्ने कुरा सवैलाई थाह भएकै विषय हो । यसकारण उनले कामबाट नै जनतालाई खुशी पार्ने हो । र,जनताले अतिउच्च आकांक्षा राख्नु नै केपी ओली पतनको एउटा कारण हो भने जनताले कुनै खास आकांक्षा नराख्नु नै देउवाको लागि अति अनुकुल अवस्था हो ।


तर,के उनी सरकार बनेको तीन सातामा खरो उत्रिरहेका छन ? योजना आयोग उपाध्यक्ष,प्रदेश प्रमुखको नियुक्तिबाट स्यावासी पाएका छन । भूमि आयोगको खारेजीबाट मिश्रित प्रतिक्रिया पाएका छन । तर,उनकै भेग दार्चुलाको जयसिंह धामी प्रकरणमा मौनता साधेबाट जनस्तरबाट आलोचनाको शिकार भएका छन ।


उमेर र राजनीतिकर्म दुवैले देउवा उत्तरार्धमा छन । पाँच पटक प्रधानमन्त्री,पाँच पटक निर्वाचित सांसद, दुई पटक पार्टी सभापति उनी भइसकेका छन । साच्चै भन्ने हो भने उनले अब यो देशबाट पाउन वाँकी केही छैन । अब उनले देशलाई दिने वेला हो । तर यहि वेला उनी चुके भने उनको राजनीति त डोलायमान हुन्छ नै उनको दल नेपाली कांग्रेस पनि थप जीर्ण हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *