कला/साहित्य

सेडोका कविता

१,
हिमाली चुच्चो
सौन्दर्य छरिएको
मन बन्यो स्वप्लिन।
तेज बनेर
आँखाको वरिपरि
सेतो हिमाली दृश्य ।
२,
दु:खेको मन
खाटा परेको घाउ
पीडै पीडा मनमा ।
झस्किन्छ सधैँ
विगत कोट्याउँदा
मुर्छा परेको याद ।
३,
कामको थुप्रो
पन्छाउन खोजेको
कर्म ठाने आफैँको ।
सधैं अधुरो
सपना देख्न खोज्दा
थला पर्‍यो रहर ।
४,
दायित्व बोध
बोकेको उत्सुकता
जीवन रमाइलो ।
कर्म गरेर
पसिमाले भिजेको
मिलेको प्रतिफल ।
५,
चोट खपेको
धैर्यता टुटेपछि
वर्षाको भेल बग्दै ।
काँढा गढेर
दु:ख सहने बानी
रगताम्य बनेको ।
६,
मध्यरातमा
चकमन्न समय
परिवेशै सन्नाटा ।
डर पसेर
अँध्यरो वरिपरि
काँपेको मन देख्दा ।
७,
मूर्ख भइँदा
आपत आइलाग्छ
झस्किन्छ जिब्रो टोक्दै ।
गल्ती अँगाल्दा
बाटो नै मतिभ्रष्ट
खेपिजान्छ तनाव ।
८,
गहिरो कुवा
माछा हामफाल्दामा
धमिलो भयो पानी ।
नाच्नै नसक्ने
भुइँ छुन खोजेको
निसासिँदै उत्रेको ।
९,
निम्तेको त्रास
आँखा चिम्लिएर
मुटु दरो पारेको ।
सहने बानी
पचेको दु:खसुख
दारा किटेको मन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *