काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरु सरकारमा जानुपर्ने विषयमा एकमत रहेको पाइयो । केन्द्रीय कमिटीमा आफ्नो धारणा राख्ने क्रममा उनीहरुले सरकारमा जानु उपयुक्त हुने सुझाव दिएका थिए ।
बैठकमा केन्द्रीय सदस्यले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो । केन्द्रीय सदस्य मेटमणी चौधरीका अनुसार बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने धराणा उठेको छ ।
ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीको भनाई छ । चौधरीले ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने बताए ।
यस्तै नेता सुरेन्द्र पाण्डेले आफ्नो समूहले नयाँ पार्टी खोल्ने सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । केन्द्रीय समिति बैठकपछि नेता पाण्डेले भने, ‘अहिले पार्टीमा दुईवटा ग्रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’
बैठकमा सरकारमा जाने नजानेबारे प्रश्नहरू उठे पनि तत्काल आफ्नो समूह सरकारमा जान कानुनी समस्या रहेको उनको भनाइ छ ।




