लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री ओली एक सातापछि सार्वजनिक भएकी छन् । नेपालगन्ज उपचारका लागि हिँडेकी ओलीलाई बुटवल ल्याएर बन्धक बनाएको सार्वजनिक भएको छ ।
ओली जनप्रतिनिधि हुन् । उनले बिहीबार आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा बन्धक बनाइएको आरोप लगाउनु सामान्य होइन । एक अगुवा नारीलाई नै यसरी सरकारको नेतृत्वमा बसेकैले बन्धक बनाउँछन् भने अन्य सामान्य नागरिकको अवस्था के होला ?
ओली एकल महिला पनि हुन् । श्रीमान् उत्तमकुमार ओलीको निधनपछि उनको रिक्त भएको स्थानमा विमलाले चुनाव जितेकी हुन् । तर, प्रदेशको सत्ता राजनीतिमा उनलाई पंगु बनाइएको छ । आज एमालेतिर भोलि माओवादीतिर भन्दै विमलाको सांसद पदको हुर्मत लिन लागिएको छ । यसको सम्पूर्ण जिम्मेवार मुख्यमन्त्री शंकर पोखरेल नै हुन् । उनले आफ्नो कुर्सी जोगाउन विमलाको राजनीतिक भविष्य माटोमै मिलाइदिएका छन् ।

प्रदेश सभामा पोखरेल स्पष्ट अल्पमतमा छन् । आफू अल्पमतमा परेपछि उनले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ । होइन भने पद छाड्नुपर्छ । तर, आफूलाई बहुमत देखाउन उनले विमलालाई आफ्नो पार्टीको सांसद बनाएर प्रस्तुत गरिरहेका छन् ।
यतिबेला विमलालाई नै कमजोर र गल्ती देखाउन केही मान्छे उद्यत देखिएका छन् । सामाजिक सञ्जालमा पनि त्यस्तै टीकाटिप्पणी भइरहेको छ । तर, प्रदेश सरकारले नै उनीमाथि बक्रदृष्टि किन लगाइरहेको छ र उनको हुर्मत लिन लागिएको छ भन्ने कसैले पनि बताउन सकेको छैन । त्यसैले शंकर पोखरेलले यसमा नैतिकता देखाउँदै मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्छ ।




