काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिपरिषद् विस्तारमा सत्ता गठबन्धनकै कारण ढिलाइ भएको बताएका छन् । उनले कांग्रेसभित्र मन्त्री चयनमा कुनै समस्या नरहेको बताए ।
‘यो नेपाली कांग्रेसको मात्र सरकार होइन, सत्ता गठबन्धनमा विभिन्न घटकहरु छन् । पार्टीको आन्तरिक समस्याका कारण नाम दिन सकेका छैनन्,’ बिहीबार नेपाली रेडियो नेटवर्कमा कुराकानी गर्दै बस्नेतले भने, ‘प्रधानमन्त्रीले कांग्रेसको मात्र मन्त्री बनाउन कुनै समस्या छैन । तर गठबन्धनबीच कुन मन्त्रालय कसलाई दिने भन्ने निर्क्यौल नभइसकेकाले समस्या भएको हो ।’
सरकारले पूर्णता नपाईकन काम कारबाहीमा प्रभावकारिता नआउने उनले बताए । ‘हामीले भेट्दा प्रधानमन्त्रीले साथीहरुले लिस्ट दिएनन्, अब केही न केही गर्नुपर्ने हुन्छ भनिरहनुभएको छ,’ उनले भने, ‘सबै सांसद मन्त्री बन्न योग्य छन् । इच्छा राख्नु अस्वाभाविक पनि होइन । तर कांग्रेसमा मन्त्री बन्न कुनै हानथाप छैन ।’
सरकार गठन भएको २४ दिन बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री देउवाको मातहतमा १७ वटा मन्त्रालय छन् ।
कांग्रेसको महाधिवेशन समयमै गर्न अधिकतम प्रयास भइरहेको समेत उनले बताए । क्रियाशील सदस्यता छानबिन समिति समयमै काम टुंग्याउन नसक्दा वडा अधिवेशन तोकिएको मितिमा हुन नसकेकाले महाधिवेशन अन्योलमा छ ।
‘अन्य दलले आठ, नौ वर्षसम्म महाधिवेशन गरेका छैनन् । कोरोना महामारी र लकडाउनका कारण आठ, नौ महिना हामीले काम गर्न पाएनौं,’ उनले भने, ‘क्रियाशील सदस्यताको विवाद शीर्षस्थ नेताबीच छलफल गरेर टुंग्याउने प्रयास हुन्छ । तर, नियमित कार्यतालिकाअनुसार महाधिवेशन लागेको बेला विशेष महाधिवेशनको माग गर्नुको कुनै तुक छैन ।’




