काठमाडौं । एमाले नेता एवं पूर्वसञ्चारमन्त्री सामाजिक सञ्जालमा निकै सक्रिय छन् । मन्त्रीबाट पदच्यूत भएपछि बासकोटाको काम भनेको अहिले दैनिक दुई–चारवटा स्टाटस वर्तमान सरकार, एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध ट्विटर र फेसबुकमा लेख्नु हो ।
पार्टीमा पनि महत्वपूर्ण जिम्मेवारीमा नरहेका बासकोटा एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन् । त्यसैले बासकोटाले बोलेका र लेखेका कुरालाई ओलीकै आधिकारिक विचार मान्ने धेरै छन् ।
उनी हिजो नेकपा हुँदा पनि प्रचण्ड र माधव नेपालको कट्टर आलोचक थिए । अहिले पनि उनले त्यो बानीलाई छाड्न सकेका छैनन् । दैनिक माओवादी केन्द्र र माधव नेपालको उछितो काढिरहन्छन् । तर, बुधबार भने बासकोटालाई माओवादी केन्द्रको माया लागेको छ ।
वर्तमान सरकारले देवी ज्ञवाली नेतृत्वको भूमि आयोग विघटन गरेपछि बासकोटा क्रुद्ध भएका छन् । उनले भूमि आयोग विघटनलाई कांग्रेसको वर्गीय चिन्तन भनेका छन् । माओवादी केन्द्रले यस्तो प्रतिगामी निर्णयमा किन ल्याप्चे लगायो ? भनेर प्रश्न सोधेका छन् । अर्थात् आफ्नो सरकारले गरेका निर्णय उल्ट्याउन माओवादी केन्द्रले साथ दिएपछि उनले माओवादी केन्द्रबारे नरम नीति अख्तियार गरेका छन् ।
‘परमादेश सरकारद्वारा गरिएको भूमि आयोगको खारेजीलाई म चाहिँ अनपेक्षीत कदम ठान्दिनँ । यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो। अचम्मित यस्मा छु कि आफूलाई सर्वहारा वर्गको महान प्रतिनिधि भन्ने माओवादीले झन्नै १७ लाख भूमिहीन जनतालाई खुल्ला आकाशमुनि वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो ?’ उनले लेखेका छन् ।




