काठमाडौं । एमालेमा संस्थापन (ओली पक्ष) ले सदस्यता नवीकरण र अधिवेशन सुरु गर्ने रणनीति अघि सारेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष दबाबमा परेको छ ।
एमाले अध्यक्ष केपी ओलीले माधव पक्षलाई पार्टीबाट निकाल्नकै लागि महाधिवेशनको तयारीमा लागेको छ । ओली पक्षको सो निर्णयसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पुराना कमिटीहरूलाई सक्रिय बनाउने तयारी गरेको छ ।
ओली पक्षको भ्रमलाई ‘क्रस’ गर्ने हिसाबले सांगठानिक गतिविधि अघि बढाउने निर्णयमा माधव पक्ष पुगेको हो । यद्यपि पार्टी एकताका लागि पनि माधव समूह लचिलो बनेको छ । ओलीलाई मात्र होइन, पार्टीका बराबरी अधिकार आफूमा हुनुपर्ने नेता नेपालको अडान छ ।
आफ्नो सांगठानिक गतिविधिमा रोक लगाएका कारण अध्यक्ष ओली र उनी निकट समूहले पेल्न थालेको ठहर गर्दै माधव पक्षले चैतअघिकै जस्तो समानान्तर कमिटीलाई सक्रिय बनाउने तयारी गरेको हो ।
एमालेको केन्द्रीय कमिटीमा ओली बहुमत देखिए पनि भ्रातृसंगठनमा भने माधव नेपाल बलियो छन् । यदि माधव पक्षले समानान्तर संगठनको अभ्यास अगाडि बढाएमा ओली पक्षको अवस्था निकै दयनीय हुने एमाले नेताहरू बताउँछन् । किनभने माधव पक्षमा जनाधार भएका नेता कार्यकर्ताको संख्या धेरै छ । ओलीलाई साथ दिनेमा जनाधार नभएका, रुखो स्वभाव र व्यवहार भएका नेता कार्यकर्ताको झुण्ड छ ।




