काठमाडौँ । सत्ता सहकार्यबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।
एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा प्रचण्ड छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ।
केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन्।
पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो।
हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने र माधव समूह सहभागी नभए पनि उक्त बैठक अघि बढाउने तयारी एमाले संस्थापन समूहको छ ।
एमाले विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले माधव नेपाललाई भेटेका हुन् । एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई अलिकति पनि मन पराउँदैनन् । तर, प्रचण्ड भने ओलीलाई चिढ्याउन माधव नेपाललाई भेटिरहन्छन् ।




