काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई संबोधन गर्दै उनले नेता नेपाललाई मुख्य अपराधीको संज्ञा दिए ।
‘अब माधव नेपालजस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने’ उनले भने, ‘आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने । त्यस्ताका लागि ठाउँ छैन ।’
पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘अरु साथीहलाई मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं’ उनले भने ।
उनले नेता नेपाललाई ‘देशद्रोही’ को आरोप पनि लगाए । “अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,” ओलीले भने । पार्टी एकताकाे लागि पहल गरिरहेकाे बेला ओलीले नेपालमाथि फेरि तिखाे कटाक्ष गरेका छन् । दाेस्राे तहका नेताहरूलाइ शनिबारसम्म एकताकाे टुंगाे लगाउने जिम्मा दिए पनि नेपाले वास्ता गरेका छैनन् । अब एमालेमा एकताकाे बाटाे टर्दै गएकाे छ ।




