कला/साहित्य

बस्तीका तीन पीडा

कसैलाई तिमीले नियाल्ने दृष्टिमा
राजनीतिको कुटिल आँखाले
फर्कि फर्कि हेरिरहँदा
सियो र सुइराको पीडादायक दुर्दान्त
नबल्झियोस् कहीं तिम्रो बरखिलापमा ।
अन्तर्मन त दुखिरहन्छ त्यसको रापले
तर होचिएको र एक्लिएको
नबनिदेओस् कतै सम्मान
तिमीभित्रको किनारा लाग्दो
नहोओस् अहम् प्रतिष्ठा ।
० ० ०

कसैलाई कसी लाउने निहुँमा
कसैलाई खुसी तुल्याउने निहुँमा
अग्लो होचोको चस्माले च्याइरहँदा
अनुहार अनुहारमा
कोही लाज र सरमले
झसक्क झस्किंदो रहेछ
कोही आँखा हेरिहेरि पनि
पटक्कै नझस्किंदो रहेछ ।
हेरिमाँग्नेमा खै कस्तो पो खोट हुन्छ र ?
बरु हेरिरहनेको छटपटाउँदो हो छाती
सल्बलाउँदो हो धमिलो मनभित्र
अमिलो पानी र बन्दो हो एउटा सङ्कीर्ण मानचित्र
आफ्नै राष्ट्र र राष्ट्रियता विरुद्घको ।
० ० ०

कोही धर्मको आडमा
भगवान्को धाममा
पुगेको बहाना गर्छन्
कोही वैमनस्यताको मलजल गर्नमा
दानी ठहर्छन्
सायद आआफ्नै कर्मले हुन सक्छ
आफ्नै धर्मको महिमा र मर्मले हुन सक्छ
मान्छे मान्छेबीच
विभेद पालेर हाँस्तो रहेछ मान्छे मस्तीमा
अनुकूलता टुटाएर आफैं मान्छे
अनिष्टकारी प्रतिकूलता
बटुल्दो रहेछ आफ्नै बस्तीमा ।
०………….. ….०………………०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *