काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।निर्वाचन आयोगलाई चुनौती दिँदै ठाकुरले दर्ता गरेको रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
जसपाको केन्द्रिय कार्यकारिणी समितिमा आधिकारिकता विवाद भएपछि निर्वाचन आयोगले ‘हेड काउन्ट’का आधारमा आधिकारिकता दिने प्रक्रिया अगाडि बढाएपछि ठाकुरले उक्त प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । ठाकुरले पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा भएको विवाद निरुपण नगरी निर्वाचन आयोग अल्पमत र बहुमतको प्रक्रियामा गएकोले त्यसलाई रोक्न माग गरेका छन् ।
रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि निर्वाचन आयोगले ‘हेड काउन्ट’ प्रक्रिया अगाडि बढाउँदै आयोगले उपेन्द्र यादवको समूहलाई आधिकारिकता दिइसकेको छ ।
आयोगको सो निर्णयपछि ठाकुर पक्ष संकटमा परेका छन् । उनीसँग अब पार्टी एकता गर्दा आएका १६ सदस्यमात्र छन् । यदि आफूले खोजेको जस्तो आदेश नआएमा ठाकुर पक्षले अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने छन् । त्यसको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
जसपाले ठाकुरसहित १६ जनालाई कार्यकारिणी सदस्यबाट हटाइसकेको छ । तर, सांसद पद भने उनीहरूको कायमै छ ।




