ताजा समाचार

डा.रवीन्द्र पाण्डे भन्छन्– एउटा कम्पनीको खोप लगाएका व्यक्तिले अर्को कम्पनीको खोप नलगाउनुहोला

एउटा कम्पनीको खोप लगाएको व्यक्तिले अर्को कम्पनीको दोस्रो मात्रा नलगाउनुहोला । खास गरेर १४ लाख ५० हजार जेष्ठ नागरिक, जसले दोस्रो डोज लगाउन पाउनु भएको छैन, उहाँहरुको लागि भाद्रको पहिलो हप्तामा कोभिशिल्ड खोप आउने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

केहि देशमा एस्ट्रेजेनेका (कोभिशिल्ड आदि) खोप लगाएमा व्यक्तिमा दोस्रो डोज फाइजर लगाइएको छ, यो प्रभावकारी देखिएको छ । हामीकहाँ उपलब्ध वा लगाइएका कोभिशिल्ड, भेरोसिल र जान्सेन खोपको कक्टेलबारे अध्ययन नभएको हुँदा जोखिम हुनसक्छ । तसर्थ केही समय पर्खेर भए पनि उही खोप लगाउनु सुरक्षित र प्रभावकारी हुन्छ ।

दीर्घरोग भएका व्यक्ति जोखिममा पर्ने भएकोले उहाँहरुले आफ्नो चिकित्सकसंग परामर्श गरेर खोप लगाउन मिल्छ ्र हामीले देख्यौं– दोस्रो लहरमा एक डोज पनि खोप नलगाएका व्यक्तिलाई जोखिम भयो । एक मात्रा मात्र खोप लगाएका जेष्ठ नागरिक तथा दीर्घबिरामीले सजिलै कोभिडलाई जित्न सक्नुभयो, खोपले काम गर्छ, जीवन बचाउँछ ।

तेस्रो लहरमा खोप नलगाएका व्यक्तिहरुलाई जोखिम हुन्छ, तसर्थ आफ्नो पालोमा खोप लगाएर सुरक्षित हुनुहोला । सरकारले चैत्रसम्म सबै नागरिकलाई खोप लगाउने बताएको छ । हामी नागरिकले खोप ल्याउन निरन्तर खबरदारी गर्नु जरुरी छ, जीवन छ र सबै छ ।

खोप लगाएका व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने आफूलाई कम असर गर्ला तर घरमा खोप नलगाएका बालबालिका तथा अन्य व्यक्तिलाई जोखिम हुनसक्छ, तसर्थ ठूलो जनसंख्याले खोप नलगाएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको बिकल्प छैन ।

हामीले लकडाउन चाहन्नौं, लकडाउन नगर्ने उपाय भनेको सही तरिकाले अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु हो । यो काम हामीले मात्र गरेर हुँदैन, मापदण्ड पालना नगर्नेलाई आफ्नो क्षेत्रबाट पालना गर्ने सल्लाह दिनुपर्दछ, सरकारले सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड पालना भए र नभएको अनुगमन तथा निगरानी गर्नु जरुरी छ, जब हामी संक्रमण हुँदैनौं, भाइरसलाई एक्ल्याउन सकिन्छ, मान्छेको शरीर बाहिर भाइरस लामो समय रहन सक्दैन, म्युटेसन हुने पनि हाम्रो कारण नै हो, सबै मिलेर भाइरसलाई एक्ल्याउनको लागि खोप तथा जनस्वास्थ्यका मापदण्ड पालनाको अर्को बिकल्प छैन ।

नाकमुनी वा चिउँडोमा मास्क राख्दा, भीडभाड गर्दा, हामीले समुहमा खाना, खाजा र पानी खाँदा मास्क निकाल्छौं, त्यही कारण हामीलाई कोभिड सर्दछ । तसर्थ खाना, पानी, खाजा खाँदा हात सफा गरेर कुनै अर्को व्यक्ति नभएको ठाउँमा खानु जरुरी छ । सानो असावधानीले नै ठूलो जोखिम भोग्नुपर्दछ ।

०००
खोप, जनस्वास्थ्यका मापदण्ड पालना गराउन, लकडाउन नगर्न, राहत दिन, परीक्षण र कन्ट्याक्ट ट्रेसिंग बढाउन, उपचारको गुणस्तर कायम गर्न, निजि अस्पतालको लुट बन्द गर्न तथा आमनागरिकलाई काम गरेर खाने बातावरण सिर्जना गर्न हामीले सम्बन्धित निकायलाई बारम्बार घच्घच्याउने काम गरिरहेका छौं ्र सबैले यो खालको दवाव दिनु जरुरी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *