काठमाडौं । कुनै तिलस्मी घटना भएन भने सम्भवतः भोलि शुक्रबार सरकारले पूर्णता पाउने भएको छ । सत्ता साझेदार दलहरुमध्ये कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइसकेकाले सरकारले पूर्णता पाउने मार्ग प्रशस्त भएको हो । यसका लागि काबिल मन्त्री छान्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिइसकेका छन् ।
कांग्रेस र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् । सानातिना विवादलाई थाँती राखेर कांग्रेसले पनि मन्त्रीको नाममा टुंगो लगाएको बुझिएको छ । कांग्रेसले प्राप्त गरेको ८ मन्त्रालयमध्ये तीनवटा मन्त्री नियुक्ति भइसकेका छन् । बाँकी रहेको पाँचमध्ये डा. मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, उमाकान्त चौधरी, डा. नारायण खड्का र पुष्पा भुषालले मन्त्रीको सपथ खाने छन् ।
बिहीबार विहान उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्री चयनको विषयमा छलफल भएको थियो । उनीहरुले केही नाम प्रस्ताव गरेर अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाएका थिए ।
मन्त्रीमा उपेन्द्र यादवसहित महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, प्रमोद साह, अमृत अग्रहरीलगायतको नाम प्रस्ताव गरिएको थियो ।
यता, माओवादी केन्द्रमा भने मन्त्री छान्न अध्यक्ष पुष्पकमल दाहालले निक्कै सकस परेको छ । आकांक्षी धेरै र पद थोरै भएकाले अध्यक्ष दाहालले यस्तो सकस परेको हो । यद्यपि अध्यक्ष दाहालले मन्त्रीको लिस्ट माइनमा सेट गरिसकेका छन् ।
सातमध्ये दुईजना मन्त्रिमण्डलमा सहभागी भइसकेका छन् । बाँकी पाँचजनाको नाममध्ये पार्टीमा योगदान दिएका तर अवसर नपाएकालाई यसपटक मन्त्रीको सूचिमा अध्यक्ष दाहालले राखेको बुझिएको छ ।
नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेललगायतले यसपटक मन्त्री बन्ने अवसर पाउने छन् ।




