काठमाडौं । केपी ओली सरकारले गरेका राजनीतिक नियुक्ति मुद्दा नलाग्ने गरी खारेज गर्ने गृहकार्य देउवा सरकारले सुरु गरेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपालगायतको सत्तारुढ गठबन्धनको बैठकले राजनीतिकरुपमा गरिएका नियुक्ति कानुनीरुपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सरकारले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने र राजनीतिक नियुक्तिहरुको टुङ्गो लगाउने निष्कर्ष निकाले छ ।
बैठकमा नेपाली काँग्रेसकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी थिए।




