राजनीति

माओवादी केन्द्रमा मन्त्री बन्नेको लिस्ट तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकले सरकारमा सहभागी मन्त्रीहरुको विषयमा टुंगो लगाउने र पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्ने बताइएको छ ।

सत्ता गठबन्धन दलमध्येको एक प्रमुख दल माओवादी केन्द्रले स्थायी कमिटीबाट नै सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ ।

माओवादी केन्द्रका ४९ सांसद नै मन्त्री बन्न लालायित देखिएका छन् । यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सांसदले मन्त्री हुन चाहेको र व्यापक दबाब दिइरहेको सार्वजनिक कार्यक्रममा बोलिसकेका छन् ।

यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् । अब माओवादी केन्द्रको भागमा बढीमा ५ मन्त्री पर्नेछन् । त्यसका लागि अध्यक्ष प्रचण्डलाई व्यापक दवाव छ । व्यापक दवाव भएपछि प्रचण्डले स्थायी समितिबाट निर्णय गरेर मन्त्री बनाउने भन्दै बैठक बोलाएका हुन् ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, देव गुरुङ, हरिबोल गजुरेल, मात्रिका यादव लगायतको नाम मन्त्री बन्नेमा चर्चा छ ।

आजको बैठकमा संवैधानिक नियुक्ति, प्रदेश प्रमुखको परिवर्तन र पार्टीको सहभागिता लगायत विषयमा समेत छलफल हुने बताइएको छ । माओवादीको भागमा २ प्रदेश प्रमुख पाउने सत्ता गठबन्धन दलबीच सहमति भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *