राजनीति

रवीन्द्र मिश्रको बोली ओलीपक्षीय नेता र कमल थापासँग किन मिल्दैछ ?

काठमाडौं । पछिल्लो समय एमाले अध्यक्ष केपी ओली निकट नेताहरू गोकुल बासकोटा, महेश बस्नेत, निरु पाल संघीयताको विरुद्धमा लागेका छन् । उनीहरू जसरी पनि संघीयता खारेज गर्नुपर्ने भन्दै अभियानमा लागेका छन् ।

निरु पालले त ओली प्रधानमन्त्री भएकाले संघीयता खारेज गर्न प्रस्ताव नै राखेकी थिइन् । बासकोटाले पनि यही सुझाव दिने गरेका छन् । मंगलबार पनि सामाजिक सञ्जालमा बासकोटाले संघीयता विदेशी एजेन्डा सुटुक्क संविधानमा छिराइएको भन्दै उनले खारेज गर्न माग गरेका छन् ।

हिजो मात्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेपछि यसले तरंग सिर्जना गरेको छ । मिश्रले राजालाई एकताको प्रतीक स्वीकार गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि पार्टीमै उनको आलोचना मात्र भएको छैन, विवेकशील साझा पार्टीका शुभेच्छुकहरू स्वाठै घटेका छन् ।

रवीन्द्र मिश्रको प्रस्ताव ओली पक्षका नेताहरूसँग मात्र होइन, राजालाई ल्याउनुपर्छ भनेर हिँडेका कमल थापासँग पनि मिलेको छ । ओली सत्तामा भइञ्जेल कमल थापाहरू सडकमा ओर्लेनन् । ओलीले हिन्दु राष्ट्र कायम गरिदेलान्, राजालाई स्पेस देलान् भन्ने अपेक्षा कमल थापाहरूलाई थियो । अहिले थापा र ओली सत्ता बाहिर छन् । ओली र थापाको बोली रवीन्द्र मिश्रमार्फत सार्वजनिक गरेको धेरैले विश्वास गरेका छन् । अब केही दिनमै ओली, थापा र मिश्रबीच गठबन्धन बन्ने संकेत देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *