राजनीति

महन्थ, राजेन्द्र र लक्ष्मणलाल कर्णलाई कारबाही गर्ने जसपाको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई प्रदान गरेसँगै आज दिउँसो २ बजे बैठक बोलाइएको हो । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको यादवले जानकारी दिएका छन् । सरकारमा सहभागिताका विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

सोमबार आयोगको इजलासले केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गरेपछि यादव पक्षलाई आधिकारिकता दिएको थियो। यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ केन्द्रीय कार्यकारिणी समिति सदस्यले हस्ताक्षर गरेका थिए। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए।

यादव पक्षलाई आधिकारिकता दिए पनि ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्न आयोगले अवसर दिएको छ। ठाकुर पक्षले अब नयाँ पार्टी खोल्न सक्नेछन्। आजको बैठकमा जसपाका तीन नेतामाथि कारबाहीको निर्णय हुने बुझिएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले तीन नेता पार्टीबाट बिदा हुने संकेत गरेका छन् । मंगलबार बिहान ट्विटमार्फत उनले कारबाही गरिन लागेको संकेत गरेका हुन् । स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई कारबाही गरिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *