राजनीति

महन्थको राजनीतिक भविष्य दाउमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगले बिहान ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ ।

जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुंग्याउन लागेको छ ।

कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ । यादव पक्षले आफू पक्षका समिति सदस्यहरूलाई आइतबार ललितपुरको टौखेलस्थित गोदावरी पार्क भिलेज रिसोर्टमा राखेको थियो । यादव पक्षले ३२ जना केन्द्रीय कार्यकारिणी सदस्य १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसदलाई रिसोर्टमा राखेको हो।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी ओली र इतर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनको अवस्थामा पुगेको छ ।
ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण नहुँदा जसपाको औपचारिक विभाजन रोकिएको छ ।

यदि आज यादव पक्षले जसपा आफ्नो पक्षमा पार्न सफल भएमा महन्थ ठाकुर र राजेन्द्र महतोको राजनीतिक भविष्य दाउमा लाग्ने छ । उनीहरूले नयाँ दल गठन गर्नुपर्ने हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *