रिबन

ओली भेट्न खोज्ने, माधव नेपाल वास्तै नगर्ने

काठमाडौं । एमाले विवाद गर्न गठित कार्यदल (जुन भंग भइसकेको छ) का सदस्यहरू पार्टी विवाद मिलाउन आज पनि बैठक बस्दैछन् । विघटित कार्यदलले १० बुँदे सहमतिको मस्यौदा तयार पारे पनि त्यसलाई वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् ।

एमालेको ओली पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकले १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन गरिसकेको छ । तर, नेता नेपालले स्वीकार नगरेसम्म त्यो कार्यान्वयनमा आउँदैन । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ सरकार गठन गरेपछि माधव नेपाल बलियो बनेका छन् । एमालेमा पनि उनी बलियो छन् ।

सोही कारण अहिले उनले ओलीलाई बेवास्ता गर्दै आएका छन् । कार्यदलका सदस्यहरूले ओली र नेपालबीच भेटवार्ता गराउन एक सातादेखि प्रयास गर्दै आएका छन् । तर, उनीहरू सफल हुन सकेका छैनन् । गत बिहीबार नै ओली र नेपालबीच भेटवार्ता हुने दाबी गरिएको थियो । तर, भएन ।

अहिले ओली माधव नेपालसँग भेट्न आत्तुर छन् । तर, माधव नेपालले भाउ दिएका छैनन् । माधवले ओली युद्धमा हारेको सिपाही भएकाले उनलाई भेट्नुको कुनै अर्थ नभएको भन्दै पन्छिने गरेका छन् । योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले विगत पाँच दिनदेखि ओली र नेपालको वार्ता गराउन कोसिस गरिरहेका छन् । तर, माधव नेपालले ‘ओके’ भनेका छैनन् ।

ओलीले नेपाल समूहका नेताहरूलाई कहिले स्पष्टिकरण सोध्ने गरेका छन् भने कहिले आममाफी दिएँ भन्ने गरेका छन् । यसतो उट्पट्याङ शैलीका कारण पनि माधवले भेट्न नचाहेको उनी निकट स्रोतले बतायो ।

शनिवार साँझ बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनमा नेता माधव नेपाल पनि सामेल भएपछि ओली आक्रोशित भएका छन् । ओलीलाई चिढ्याउन पनि नेपाल बैठकमा सहभागी भएका हुन् ताकि ओलीले फेरि कुनै अन्टसन्ट काम गरुन् र अभिव्यक्ति दिउन् ।

देउवा प्रधानमन्त्री बनेपछि नेता नेपालले आफू सत्तापक्षीय गठबन्धन छोडेको वक्तव्य दिएका थिए । त्यसपछि उनले आफ्नातर्फबाट डा. विजय पौडेललाई बैठकमा पठाउँदै आएका थिए । देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक सहयोग गरेका नेता नेपाल र उनको समूह अहिले राजनीतिमा शक्तिशाली देखिएको छ । सर्वोच्च अदालतको किटानी आदेशबाट सत्ताच्यूत भएका ओलीको शक्ति भने निरन्तर ओरालो लाग्दै आएको छ । ओली कमजोर बन्दै गएको निष्कर्षका साथ नेता नेपालले ओलीसँग भेट्न चासो नदिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *