काठमाडौं । काँग्रेस महाधिवेशन भदौ १६ बाट १९ सम्म काठमाडौंमा गर्ने तय गरिएको छ । तर, क्रियाशील सदस्यता विवाद सुल्झाउन नसक्दा नेपाली कांग्रेसले साउन १२ गते तोकिएका वडा तथा गाउँ तहका अधिवेशन स्थगित गरेको छ । नयाँ तालिका सार्वजनिक गर्न पनि सकेको छैन । जसकारण पनि पनि कांग्रेस महाधिवेशन सर्ने अनुमान गरिएको छ ।
शनिबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले साउन १२ गते तोकिएका वडा तथा गाउँ तहका अधिवेशन स्थगित गरेको हो । क्रियाशील सदस्यता विवाद छानबिन समितिले पटकपटक थपेको समयभित्र पनि प्रतिवेदन दिन नसकेपछि महाधिवेशनको मुख्य तालिका नै प्रभावित भएको हो ।
छानबिन समितिलाई प्रतिवेदन बुझाउन साउन १२ गते (मंगलबार) सम्मको म्याद दिइएको छ । उसले दिने प्रतिवेदनका आधारमा नयाँ तालिका सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
वडा तहका अधिवेशन समयमा नभएपछि नगरपालिका, प्रदेशसभा तथा प्रतिनिधि सभाका निर्वाचन क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशन पनि प्रभावित हुनेछन् । यसअघिको तालिकाअनुसार भदौ २ गतेसम्म तल्ला तहका सबै अधिवेशन सकेर १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्नुपर्ने हुन्थ्यो, जुन फेरि अनिश्चयमा धकेलिएको छ ।
क्रियाशील सदस्यता कुन नेताका तर्फबाट कति राख्ने भन्ने विवाद महाधिवेशनको मुखैसम्म तन्काउँदा समस्या जटिल बनेको हो ।
सर्लाही, धनुषा, बाराका नेता कार्यकर्ता पार्टी कार्यालयमा आमरण अनसनमा छन् ।
वडा अधिवेशन स्थगित गरिएसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा हुने सम्भावना कमजोर हुँदै गएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संकेत गरेका छन् ।
आइतबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ता दिँदै उनले निर्धारित समयमा महाधिवेशन नभए पनि कांग्रेस पार्टी अरुले दर्ता गर्न नसक्ने बताए । संविधानअनुसार भदौमा महाधिवेशन नभए पनि पार्टी खारेज नहुने उनको भनाइ थियो । काँग्रेसभन्दा अगाडि महाधिवेशन गरेका अन्य ठूला दलले पनि अहिलेसम्म महाधिवेशन नगरको उल्लेख गर्दै पार्टी र चुनाव चिन्ह खारेज नभएको दाबी गरे । तर, उनले समयमै महाधिवेशन गर्नु नैतिकतासँग जोडिएको बताए ।




